काठमाडौँ । पल्सर सहिद स्मारक ए डिभिजन लिग २०७५ मा व्यक्तिगत स्पर्धातर्फका सर्वोकृष्ट खेलाडीले एक हप्ता भित्र पुरस्कार वापतको मोटरसाईकल पाउने भएका छन् । लिगको प्रायोजन अधिकार लिएको रामसार मिडिया प्रा.ली.ले एक हप्ताभित्र पुरस्कार वापतको बाँकी रकम र मोटरसाईकल उपलब्ध गराउने सहमती पत्रमा हस्ताक्षर गरेको छ ।
लिग सकिएको झण्डै एक बर्ष बित्दा समेत खेलाडीले विधागततर्फको पुरस्कार वापतको मोटरसाईकल प्राप्त गर्न सकेका छैनन् ।लिगको प्रायोजन तथा प्रवद्र्वनको अधिकार पाएको रामसारले सम्झौता अनुसारको रकम एन्फालाई उपलब्ध गराउन सकेको छैन । साथै उसले विधागततर्फका उत्कृष्ट खेलाडीलाई उपलब्ध भनिएको पल्सर मोटरसाईकल दिन समेत ढिलाई गरेको छ । सोही कारण एन्फा र खेलाडीले लिगको मुख्य प्रायोजन अधिकार लिएको रामसारबाट रकम प्राप्त गर्न सकेका थिएनन् ।
आईतबार एन्फा र रामसारका प्रतिनिधिबीच लिगको पुरस्कार र प्रायोजन रकमको बिषयमा छलफल भएको थियो । रामसार मिडियाले एक हप्ताभित्रमा प्रायोजन वापतको बाँकी रकम र मोटरसाईकल उपलब्ध गराउने लिखित समझदारी एन्फासंग गरेको छ ।
‘रामसारले ब्याज सहित लिगको बाँकी रकम दिने लिखित सम्झौता गरेको छ ।’ एन्फाका एक पदाधिकारीले भने, ‘बाँकी रकम र मोटरसाईकल एक हप्ताभित्र उपलब्ध गराउने समयसिमा छ ।’
एन्फाले लिगको प्रायोजन अधिकार पहिलो बर्ष एक करोडमा बेचेको थियो । दोस्रो बर्ष डेढ र तेस्रो बर्ष २ करोड हुने गरि तीन बर्षको सम्झौता रामसार र एन्फाबीच भएको थियो ।
तर रामसारले पहिलो बर्षको ३० लाख मात्र एन्फालाई उपलब्ध गराएको छ । उसले अब ब्याज सहितको बाँकी रकम एक हप्ताभित्र एन्फालाई बुझाउने छ । साथै खेलाडीको रोकिएको पुरस्कार वापतको मोटरसाईकल समेत हस्तान्तरण गर्नेछ ।
करिब ५ बर्षपछि सुरु भएको ए डिभिजन लिगमा उत्कृष्ट गोलकिपर बिशाल श्रेष्ठ, उत्कृष्ट डिफेन्डर रन्जित धिमाल, उत्कृष्ट मिडफिल्डर हेमन गुरुङ, उत्कृष्ट फरवार्डमा भरत खवास र उत्कृष्ट प्रशिक्षकमा सुमन श्रेष्ठ घोषित भएका थिए । विधागततर्फका उत्कृष्टलाई मोटरसाईकल दिने बताईएको थियो ।
लिगको प्रायोजनको जिम्मेवारी लिएको रामसार मिडियाले भने मुख्य प्रायोजकबाट समयमा पैसा उपलब्ध नहुदाँ रकम दिन ढिलाई भएको स्विकारेकोे छ । उसले पल्सरलाई मुुख्य प्रायोजकको रुपमा गत बर्ष लिगमा भित्राएको थियो ।
‘मुख्य प्रायोजकबाट पैसा उठ्न ढिला हुदाँ समयमा उपलब्ध गराउन सकेनौ । सोही कारण मोटरसाईकल समेत अड्किएर बसेको छ । अब केही दिनमा सबै बिषय समाधान हुन्छ ।’ रामसारका एक प्रतिनिधिले भने ।
प्रकाशित मितिः २०७६ साउन २७ सोमबार
Comments