काठमाडौं । सिंगापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप एसिया फाइनलको तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले मलेसियामा रहेको छ ।
प्रतियोगिताको लागि नेपालले मलेसियामा अन्तिम तयारी गरिरहेको छ । नेपालले घरेलु टोलीसँगको दुई खेलको टी–ट्वान्टी क्रिकेट सिरिज समेत क्लिन स्विप गरेको थियो । नेपाली टोली मलेसियाबाटै सिंगापुर प्रस्थान गर्नेछ ।
सन् २०२० मा अष्ट्रेलियामा हुने विश्वकपको छनोटको रुपमा रहेको फाइनल जुलाई २२ देखि २८ सम्म सिंगापुरमा आयोजना हुदैछ ।एसिया फाइनलमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपालले पहिलो खेल कतारसँग खेल्नेछ ।
नेपाल र कतारबीचको खेल २३ जुलाईमा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा मलेसियासंग २४ जुलाई, २७ जुलाईमा कुवेत र २८ जुलाईमा सिंगापुरसंग खेल्नेछन् । छनोट शीर्ष टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।
त्यसैले नेपालले दोस्रो पटक आईसीसी टी–ट्वान्टी विश्वकपमा छनोट हुन एसिया फाइनलको उपाधि पहिलो खुड्किलो रहेको छ । यसअघि मलेसियामा भएको एसिया रिजन क्वालिफाएरको विजेता बन्दै नेपाल एसिया फाइनलका लागि छनोट भएको थियो ।
पूर्वी क्षेत्रका ७ राष्ट्र बीच भएको प्रतियोगिताबाट ३ राष्ट्रले एसिया फाइनलका लागि स्थान बनाउने भएकाले नेपालसंगै मलेसिया र सिंगापुर समेत छनोट भएका थिए ।
पश्चिम क्षेत्र अन्तर्गत युएई, कतार र कुवेतले एसिया फाइनलका लागि स्थान बनाएका थिए । विश्वकप छनोटको आयोजकको रुपमा युएईले एसिया फाइनल खेल्ने छैन ।
एसिया फाइनलको विजेताले आगामी नोभेम्बरमा युएईमा हुने आईसीसी टी–ट्वान्टी विश्वकप छनोटमा स्थान बनाउने छ ।
छनोटमा क्षेत्रिय छनोटबाट आएका अफ्रिका, अमेरिका, एसिया, युरोप र पूर्वी एसिया प्यासिफिकका राष्ट्र संगै गत संस्करणको टी–ट्वान्टी विश्वकप खेलेका राष्ट्र हङकङ, आयरल्याण्ड, नेदरल्याण्ड, ओमान, स्कटल्याण्ड, आयोजक युएई र जिम्बाबे गरि १४ राष्ट्रको सहभागिता हुनेछन् ।
विश्वकप छनोटमा शीर्ष ६ स्थान सम्मका राष्ट्रले आगामी बर्ष अस्ट्रेलियामा हुने आईसीसी टी–ट्वान्टी विश्वकपमा सहभागिता जनाउने छन् ।
त्यसैले नेपाल विश्वकपका लागि छनोट हुन एसिया फाइनलको उपाधि हात पार्नु पर्नेछ । र, युएईमा हुने आईसीसी टी–ट्वान्टी विश्वकप छनोटमा १४ राष्ट्र मध्य नेपाल कम्तिमा शीर्ष ६ स्थान बनाउनु पर्नेछ ।
प्रकाशित मितिः २०७६ साउन ३ शुक्रबार
Comments