काठमाडौं । कार दुर्घटनामा निधन भएका आर्सनलका पूर्व खेलाडी जोसे एन्टोनियो रियसका छोरालाई स्पेनिस क्लब रियल मड्रिडले अनुबन्धित गरेको छ ।
सन् २००६–७ को सिजनमा रियल मड्रिडमा लोनमा खेलेका रियसको गएको महिना ३५ वर्षको उमेरमा कार दुर्घटनामा निधन भएको थियो । उनका ११ वर्षका छोरा जोसे रियस लोपेजलाई रियल मड्रिडले अनुबन्धित गरेको हो ।
स्पेनिस क्लब लेगानेसको एकेडेमीमा रहेका जोसे अब रियल मड्रिडको एकेडेमीमा आउने भएका हुन् । लोपेज रियल मड्रिड आउने सम्बन्धी सम्झौता उनका पिताको निधन भन्दा पहिले नै भएको थियो । तर यसको घोषणा भने सोमबार भएको हो, लोपेजले आमा र एजेन्टसँगको तस्बिर इन्स्टाग्राममा पोस्ट गरेर रियल मड्रिड यात्राको जानकारी दिएका हुन् ।
उनले लेखेका छन्, ‘रियल मड्रिडबाट मेरो जीवनको नयाँ अध्याय सुरु गर्न पाउँदा म निकै खुशी छु ।’ बार्सिलोना तथा चेल्सीका पूर्व मिडफिल्डर सेस फाब्रिगास, जसले लोपेजका पितासँग आर्सनलमा खेलेका थिए, उनले पनि लोपेजलाई सल्लाह दिएका छन् ।
स्पेनिस पत्रिका मार्काका अनुसार रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो परेजेले रियस जुनियर १८ वर्ष नपुगेसम्म आफूले रेखदेख गर्ने बताएका छन् । रियस जुनियरका पिता जोसे एन्टोनियोले सेभिल्लामा लामो समय बिताएका थिए । एजेन्सी
प्रकाशित मितिः २०७६ असार १० मंगलबार
Comments