काठमाडौं । इटालीको घरेलु लिग सिरी ‘ए’ फुटबलअन्तर्गत गए रातिको खेलमा लिग लिडर युभेन्टस बराबरीमा रोकिएको छ । एटलान्टासँग उसैको मैदानमा खेलेको युभेन्टस २–२ गोलको बरारबीमा रोकिएको हो ।
युभेन्टसलाई हारबाट जोगाउन स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको उल्लेखनीय योगदान रह्यो । विश्राम लिएर बेन्चमा बसेका रोनाल्डोले घरेलु टोलीविरुद्ध पछि परेको अवस्थामा मैदान प्रवेश गरी हारबाट युभेन्टसलाई बचाएका थिए ।
उनले खेलमा २–१ ले पछि परेको अवस्थामा मैदान पसेर गोल गर्दै खेल २–२ गोलको बराबरीमा ल्याउँदै युभेन्टसलाई हारबाट जोगाएका हुन् । रोनाल्डो खेलको ६५ औं मिनेटमा सामी खेडीराको स्थानमा मैदान छिरेका थिए । त्यसअघि डुभान जापटाले दुई गोल गरेपछि युभेन्टस २–१ ले पछि परेको थियो ।
उक्त खेलमा सुरुवाती अग्रता भने युभेन्टसले लिएको थियो । युभेले खेलेको दोस्रो मिनेटमा नै एक गोल उपहारस्वरुप पाएको थियो । एट्लान्टाका बेराट डिजमसिटीको आत्मघाती गोलबाट युभेन्टसले अग्रता लिएको थियो । तर, घरेलु टोलीका लागि जापटाले खेलको १८ औं मिनेटमा गोल गर्दै बराबरीको स्थितिमा ल्याए ।
पहिलो हाफ १–१ को बराबरी भएको थियो । खेलको ५३ औं मिनेटमा युेभन्टस १० खेलाडीमा सीमित भयो । रोड्रीगो बेन्टानकरले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउदा युभेन्टस १० खेलाडीमा समेटिएको थियो ।
खेलको ५६ औं मिनेटमा जापटाले व्यक्तिगत दोस्रो गोल गर्दै एटलान्टालाई २–१ अग्रता दिलाएका थिए । तर, सब्सिच्युड खेलाडी रोनाल्डोले ७९ औं मिनेटमा गोल गरेपछि खेल २–२ को बराबरीमा सकियो ।
यो बराबरीपछि जारी लिगमा अपराजित युभेन्टसले अंकदूरी बढाउने मौका भने गुमाएको छ । तर, ऊ लिगको शीर्ष स्थानमा यथावत रहेको छ । युभेन्टससँग ५० अंक छ भने उ दोस्रो स्थानमा रहेको नापोलीभन्दा ९ अंकले अघि छ । एजेन्सी
प्रकाशित मितिः २०७५ पुष १२ बिहिबार
Comments