काठमाडौं । इटालियन क्लब युभेन्टसका प्रशिक्षक मासिमिलेनी एलेग्रीले आफ्ना सुपरस्टार क्रिस्टियानो रोनाल्डोले यसपटक च्याम्पियन्स लिगमा आफ्नो लय कायमै राख्ने विश्वास व्यक्त गरेका छन् । युरोपियन च्याम्पियन्स लिग सुरु हुनुभन्दा २ दिनअघि इटालीका स्थानीय मिडियासँग कुरा गर्दै उनले रोनाल्डोले च्याम्पियन्स लिगमा टोलीलाई अघि बढाउन निर्णायक भूमिका खेल्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।
सिरी ए मा सुरुआती तीन खेलमा गोलविहीन रहँदै आएका रोनाल्डोले पछिल्लोपटक चौथो खेलमा सासुलोविरुद्ध २ गोल गरेर आफू लयमा फर्किएको सन्देश दिएका थिए । रोनाल्डोको २ गोलको मदतमा युभेन्टसले २–१ ले जित निकालेपछि एलेग्री निकै उत्साहित भएका छन् ।
उनले रोनाल्डोलाई लयमा आउन समय लाग्ने तर आएपछि उनले केही गर्ने बताएका छन् । ‘हिजोसम्म म केही चिन्तित थिएँ । तर, अब त्यो अवस्था छैन,’ उनले रोनाल्डोको प्रशंसा गर्दै भनेका छन्, ‘उनी ९रोनाल्डो० गोलको लयमा फर्किएका छन् । र, उनले आफ्ना स्तर देखाइसकेका छन् ।’
रोनाल्डो च्याम्पियन्स लिगमा आफ्नो टोलीको मुख्य हतियार रहेको एलेग्रीले बताए । ‘अवश्य पनि, च्याम्पियन्स लिगका सर्वाधिक सफल खेलाडी रोनाल्डो हाम्रो टोलीमा छन् भने हाम्रा लागि उनी ठूला हतियार हुन्,’ एलेग्रीले थपे, ‘म यसमा विश्वस्त छु कि, रोनाल्डो विगतझैं यसपटक पनि युरोपियन फुटबलमा चम्किन्छन् ।’
रोनाल्डोले पछिल्ला पाँचमध्ये चार सिजन च्याम्पियन्स लिगको उपाधि जितेका छन् । त्यसक्रममा उनले रियल मड्रिडमा छँदा चारपटक यो उपाधि जिते भने एक उपाधि म्यानचेस्टर युनाइटेडमा छँदा जितेका थिए ।
रोनाल्डो च्याम्पियन्स लिगका पछिल्ला चार सिजनका लगातारका सर्वाधिक गोकर्ता हुन् । उनी च्याम्पियन्स लिगको इतिहासमै सर्वाधिक गोलकर्ता पनि हुन् । उनले कूल १ सय २० गोल गरिसकेका छन् ।
च्याम्पियन्स लिगमा युभेन्टसले भोलि ९बुधबार राति० भ्यालेन्सियाको घरेलु मैदानमा समूह चरणको पहिलो खेल खेल्दैछ । रियल मड्रिड छाडेपछि रोनाल्डो पहिलोपटक औपचारिक प्रतियोगिताका लागि स्पेन जाँदैछन् । एजेन्सी
प्रकाशित मितिः २०७५ असोज २ मंगलबार
Comments