काठमाडौं । पाँच पटकको च्याम्पियन श्रीलंका युएईमा जारी एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । गए राति भएको समूह चरणको दोस्रो खेलमा अफगानिस्तानसँग ९१ रनले पराजित हुँदै श्रीलंका समूह चरणबाटै बाहिरिएको हो । अबुधाबीमा अफगानिस्तानले दिएको २५० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलंका ४१ ओभर २ बलमा अलआउट हुँदै १५८ रनमा समेटियो ।
श्रीलंकाका ओपनर उपुल थरंगाले सर्वाधिक ३६ रन बनाएपनि टिमको हार टार्न सकेन । थिसारा परेराले २८, धनन्जय डि सिल्भाले २३, कप्तान एन्जेलो म्याथ्युजले २२ रन जोडे । अन्य ब्याट्सम्यानले राम्रो खेल्न सकेन । श्रीलंकालाई सस्तैमा समेट्न अफगानिस्तानका मुजिब उर रहमान, गुलबदिन नैब, मोहमद नाबीले र रशिद खानले समान २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले पुरै ५० ओभरमा अलआउट हुँदै २४९ रन बनाएको थियो । अफगानिस्तानका लागि रहमत साहले ७२ रनको अर्धशतकीय इनिङस खेल्दा इशानउल्लाह जनतले ४५ रन जोडे । शाहिदीले ३७ रन, मोहम्मद नावी १५, रसिद खान १३ र नाजिवुल्लाह जर्दान १२ रनमा आउट भए ।
श्रीलंकाका थिसरा परेराले ५ तथा अकिला धनन्जयले २ विकेट लिए । यो जितसंगै समूह बि को अफगानिस्तानले १ खेलबाट २ अंक जोडेको छ । श्रीलंका अंकविहिन रहदै घर फर्कियो । योसंगै श्रीलंका एसिया कपबाट बाहिरिने पहिलो टोली बनेको छ । पहिलो खेलमा श्रीलंका बंगलादेशसँग पराजित भएको थियो । एसिया कप अन्तर्गत आज हङकङले भारतको सामना गर्दै छ । खेल ५ः१५ बजेपछि शुरु हुनेछ ।
प्रकाशित मितिः २०७५ असोज २ मंगलबार
Comments