काठमाडौ । आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा संघर्षपूर्ण जित निकालेको छ। आइतबार भएको खेलमा आर्सनलले कार्डिफ सिटीलाई ३,२ ले हराएको हो ।
कार्डिफको मैदानमा भएको खेलमा आर्सनललाई जिताउन साकोर्डन मुस्ताफी, पेरिक एम्रिक आबुमियाङ र एलेक्जेन्डर लाकाजेट्सले एक एक गोल गरे। कार्डिफका भिक्टर कमारासा र डानी वार्डले एक एक गोल फर्काए।
लिगको सुरुवात खराब प्रदर्शनबाट गरेको आर्सनलले पछिल्ला खेलमा राम्रो गरिरहेको छ। यो सिजन अवे मैदानमा भएको खेलमा आर्सनलको यो पहिलो जित हो। पहिलो हाफमा १,१ को बराबरी भएको खेलमा दोस्रो हाफमा आर्सनलले दुई तथा कार्डिफले एक गोल गर्यो।
खेलको ११ औं मिनेटमा स्कोड्रान मुस्ताफीको गोलबाट आर्सनलले अग्रता लिएको थियो। तर पहिलो हाफको इन्जुरी समयका भिक्टर क्यामरासाले कार्डिफका लागि बराबरी गोल फर्काएका थिए। ६२ औं मिनेटमा पिएर एमरिकले आर्सनलका लागि गोल गर्दै खेलमा पुनः अग्रता दिलाए। तर, ७० औँ मिनेटमा ड्यानी वार्डले फेरि कार्डिफका लागि बराबरी गोल गरेका थिए।
८१ औँ मिनेटमा एलेक्सान्ड्र लाकाजेट्टीले गोल गरेपछि आर्सनल ३,२ ले विजयी भयो। यो जितसँगै चार खेलबाट ६ अंक जोडेको आर्सनल नवौँ स्थानमा उक्लिएको छ। एजेन्सी
प्रकाशित मितिः २०७५ भदौ १८ सोमबार
Comments