काठमाडौं १० साउन । युरोप भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले तेस्रो अभ्यास खेलमा जित हात पारेको छ । दोस्रो अभ्यास खेलमा पराजित भएको नेपाल तेस्रो अभ्यास खेलमा इष्ट लण्डन ११ लाई २२३ रनले पराजित गरेको हो । लग्घटन क्रिकेट क्लबको मैदानमा नेपालले दिएको ३३९ रनको फराकिलो लक्ष्य पछ्याएको इष्ट लन्डन ३८ ओभर ५ बलमा अलआउट हुँदै ११५ रनमा समेटियो ।
इष्ट लन्डनका डारेन आइरनसाइडले ३८ रन, आकाश राजीले अविजित २७ रन जोडे । भाज पुरेवलले २२ , सागर जोशी ८, नेल सोलोमन ६, रामिज ४ र नाविल अजिजले ३ रन बनाए । अर्मन र विलाल पटेल शुन्य रनम आउट भए । शक्ति गौचनले ४ विकेट लिए । यस्तै करण केसी र ललित नारायण राजवंशीले समान २÷२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर ३३८ रन बनाएको थियो । नेपालको उच्च स्कोरमा अनिल कुमार साहले शतकीय पारी खेले । अनिलले ११८ बलमा १३१ रन जोडे ।
यस्तै शरद भेषवाकरले ९८ रन जोड्दा सोमपाल कामीले २९ रन जोडे । सुवास खकुरेल ८, ज्ञानेन्द्र मल्ल ९ र कप्तान पारस खड्का ४ रनमा आउट भए । सोमपाल कामीले २९ रन र रोहित कुमार पौडेल ११ रनमा आउट भए । करण केसी १३ तथा शक्ति गौचन ९ रनमा नटआउट रहे । दीपेन्द्रसिंह ऐरी शुन्य रनमै आउट भए । इष्ट लन्डनका अर्शलान खानले ३, नाबिल अजिजले दुई तथा सागर जोशीले एक विकेट लिए ।
इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक टी–ट्वान्टी सिरिज र नेदरल्याण्डसंगको एकदिवसीय क्रिकेट सिरिजको लागि युरोपमा रहेको नेपाली टोलीले अब आज बिहिबार अन्तिम अभ्यास खेल्ने छ ।
Comments