काठमाडौं २४ असार । विश्वकप २०१८ अन्तर्गत क्वार्टरफाइनलको तेश्रो खेलमा इंग्ल्याण्डले जुझारु स्वीडेनलाई २–० गोल अन्तरले हराइ विश्वकपमा २८ वर्षपछि सेमिफाइनल प्रवेश गरेको छ । यस खेल पश्चात स्विडेनको विश्वकप यात्रा यहि टुंगिएको छ ।
खेलको सुरुवात देखि नै स्विडेन रक्षात्मक देखिएको थियो भने इङ्गल्याण्डले आक्रामक रुपमा खेलेको थियो । तथापी खेलको २५ औं मिनेटसम्म दुबै टोलीले जोखिम नलिइ खेलेका थिए । इङ्गल्याण्डले खेलमा अग्रता लिने क्रममा खेलको ३० औं मिनेटमा ह्यारी मेग्वायरले गोल गरेका थिए । एश्ले योङले प्रहार गरेको शटमा मेग्वायरले हेडिङ गर्दै गोल गरेपछि खेलमा इङ्गल्याण्डको पकड सुरु भएको थियो ।
खेलमा पछि परेपछि रक्षात्मक रणनितीमा सामान्य परिवर्तन गर्दै अगाडि बढेको स्विडेनले पहिलो हाफमा कुनै गोल गर्न सकेन र हाफ टाइमसम्म १–० को अवस्था नै रह्यो । १ गोलले यो खेल जित्न नसकिने तथ्यलाई मनन गर्दै इङ्गल्याण्डले दोश्रो हाफमा झन् आक्रामक खेल देखाएको थियो । तथापी खेलको ४७ औं मिनेटमा स्विडेनका मार्कस बर्गले प्रहार गरेको शटलाई इङ्गल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले बचाएका थिए ।
त्यसपछि खेलको ५४ औं मिनेटमा इङ्गल्याण्डले पाएको अवसर सदुपयोग गर्न नसकेपनि ५८ औं मिनेटमा अर्को गोल थप्दै खेलमा २–० को अग्रता बनाउन सफल भएको थियो । इङ्गल्याण्डका डेले अल्लीले जेसी लिंगार्डले दिएको पासमा गोल गर्दै इङ्गल्याण्डलाई खेलमा २ गोलको स्पष्ट अग्रता दिलाएका थिए ।
इङ्गल्याण्डलाई गोल मार्फत् दबाव दिन खेलको ७२ औं मिनेटमा स्विडेनका खेलाडिले गरेको प्रयासलाई पुनः गोल किपर जोर्डन पिकफोर्डले असफल बनाएका थिए । त्यसपछिको समयमा केहि फाउल सहित गोल गर्ने प्रयास दुबै पक्षबाट भएपनि थप गोल नभइ विश्वकपको यस महत्वपूर्ण खेलमा इङ्गल्याण्डले विजय प्राप्त गरी २८ वर्षपछि सेमिफाइनल पुगेको छ । एजेन्सी
Comments