एजेन्सी २६ पुस । युएई र पाकिस्तानमा जारी पाँचौं एकदिवसीय दृष्टिविहीन विश्वकप क्रिकेट अन्तर्गतको पहिलो खेलमा नेपाल पराजित भएको छ। मंगलबार भएको पहिलो खेलमा नेपाल आयोजक पाकिस्तानसँग ९ विकेटले पराजित भएको हो।
जिन्नाह स्टेडियमा नेपालले दिएको २५९ रनको लक्ष्य पाकिस्तानले १९ ओभर १ बलमा १ विकेट गुमाएर पूरा गर्यो पाकिस्तानका बदर मुनिर १२६ रन बनाएर रिटायर्ड हर्ट भएका थिए। त्यस्तै पाकिस्तानका मोशिन खान ७४ रनमा अविजित रहँदा अमीरब अस्फागले अविजित ४६ रन बनाए।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै ४० ओभर खेल्दै ५ विकेट गुमाएर २५८ रन बनाएको थियो। नेपालका लागि रमेश बहादुर बानियाँ ५९ तथा पदम बहादुर बडैलाले ५० रन जोडे। त्यस्तै भरत चौलागाईले ४९ तथा खिमानन्द गैरेले अविजित ३० रन बनाए।
अब नेपालले बुधबार बंगलादेशसँग इकबाल स्टेडियमा खेल्नेछ। यस्तै नेपालले १३ जनवरीमा श्रीलंकासँग खेल्नेछ । १४ जनवरीमा नेपालले साबिकको बिजेता भारतसँग खेल्नेछ लिगको अन्तिम खेल नेपालले १५ जनवरीमा बलियो टोली अस्ट्रेलियाविरुद्ध खेल्नेछ।
घरेलु मैदानमा जारी प्रतियोगितामा पाकिस्तानको यो लगातार दोस्रो जित हो । पाकिस्तानले सोमबार बंगलदेशमाथि ९ विकेटको जित निकालेको थियो ।
Comments