काठमाडौं । निकोलो जानिलोको गोलमा एएस रोमाले बुधबार राति फियोनउडलाई १–० ले हराउँदै युरोपा कन्फेरेन्स लिगको उपाधि जितेको छ । युरोपियन प्रतियोगितामा रोमाको यो पहिलो उपाधि हो ।
जोजे माउरिन्होको प्रशिक्षणमा रोमाले पहिलो सिजन नै उपाधि जित्न सफल भएको छ । रोमाको जितमा जानिलोले ३२औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । उनले जियानलुका मान्सिनीको पासमा गोल गरेका थिए । यससँगै माउरिन्हो च्याम्पियन्स लिग, युरोपा लिग, यूईएफए कप र युरोपा कन्फेरेन्स लिग गरी चारै युरोपियन प्रतियोगिताको उपाधि जित्ने पहिलो प्रशिक्षक बनेका छन् ।
समूह चरणमा नर्वेको बोडो/ग्लिम्टसँग ६–१ ले पराजित भएपछि पोर्चुगलका माउरिन्होको चर्को आलोचना भएको थियो । तर, त्यसपछि चेल्सी र म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक माउरिन्होको रोमाले उपाधि जित्न सफल भयो । युरोपियन प्रतियोगिताको फाइनलमा माउरिन्होले सतप्रतिशत नतिजा निकाल्न सफल भएका छन् । उनले पाँच फाइनलमध्ये पाँचमै उपाधि जितेका छन् ।
‘‘सुरुदेखी नै यो प्रतियोगिताको उपाधि जित्न सक्छौं भन्ने आत्मविश्वास थियो,’’ रोमाका प्रशिक्षक माउरिन्होले भने । म रोमामा आउँदा समर्थकले केही उपलब्धिको अपेक्षा गरेका थिए । आज त्यो पूरा भएको छ । र हामी इतिहास रच्न सफल भएका छौं ।’’
माउरिन्होले पोर्टोबाट २००२/०३ मा यूईएफए कप, पोर्टोबाटै २००३/०४ मा च्याम्पियन्स लिग, इन्टर मिलानबाट २००९/१० मा च्याम्पियन्स लिग, म्यानचेस्टर युनाइटेडबाट २०१६/१६ मा युरोपा लिग र रोमाबाट यस सिजन युरोपा कन्फेरेन्स लिगको उपाधि जितेका छन् ।
प्रकाशित मितिः २०७९ जेठ १२ बिहिबार
Comments