काठमाडौं । मैत्रीपूर्ण खेलमा पोर्चुगलले फराकिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा पोर्चुगलले इजरायललाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेसले दुई गोल गरे । यस्तै क्रिस्टियानो रोनाल्डो र जोआ कान्सेलोले एक एक गोल गरे । खेलको ४२ औं मिनेटमा फर्नान्डेसले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए ।
४४ औं मिनेटमा कप्तान रोनाल्डोले गोल गर्दै टिमको अग्रता २-० को बनाए । खेलको ८६ औं मिनेटमा जोआले गोल गर्दा पोर्चुगल ३-० ले अघि रह्यो ।
त्यसपछि खेलको इन्जुरी समयमा फर्नान्डेसले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई ४-० को जित दिलाए । युरोकप फुटबलको तयारीको लागि पोर्चुगलले इजरायलसँग मैत्रीपूर्ण खेल खेलेको हो । साविक विजेता समेत रहेको पोर्चुगल यस पटक कठिन समूहमा रहेको छ ।
पोर्चुगल रहेको समूह एफु मा विश्वकप विजेता फ्रान्स, जर्मनी र हंगेरी रहेको छ । पोर्चुगलले पहिलो खेल हंगेरीसँग खेल्नेछ । युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ । यस पटकको युरोकप युरोपका विभिन्न ११ शहरमा हुँदैछ । एजेन्सी
प्रकाशित मितिः २०७८ जेठ २७ बिहीबार
Comments