काठमाडौं । कार्तिक महिनामा वाणिज्य बैंकहरुको निक्षेप २२ अर्ब रुपैयाँले बढेको छ । कार्तिक ४ गतेको तुलनामा कात्तिक ३० गते बैंकहरुमा रहेको निक्षेप २२ अर्ब रुपैयाँले बढेको देखिएको हो ।
वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैकर्स संघले दिएको जानकारी अनुसार कार्तिक ४ गते ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप थियो । गत कार्तिक ३० गते वाणिज्य बैंकहरुमा यस्तो निक्षेप बढेर ४५ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको हो ।
निक्षेप बढेको देखिए पनि कर्जा प्रवाह भने घटेको छ । कार्तिक ४ गतेसम्ममा वाणिज्य बैंकहरुले ४२ खर्ब २५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । गत कार्तिक ३० गतेसम्ममा वाणिज्य बैंकहरुबाट भएको कर्जा प्रवाह ४२ खर्ब २२ अर्ब रुपैयाँ छ । एक महिनाको अवधिमा वाणिज्य बैंकहरुबाट प्रवाह भएको कर्जा ३ अर्ब रुपैयाँले घटेको हो ।
मासिक रुपमा हेर्दा बैंकहरुमा निक्षेप बढेको देखिए पनि यो महिना निक्षेप बढ्ने र घट्ने क्रम जारी रहेको तथ्यांकले देखाएको छ । कार्तिक ४ गतेसम्ममा बैंकहरुका ४५ खर्ब ४१ अर्ब रुपैयाँ कुल निक्षेप रहेकोमा कार्तिक ११ गते घटेर ४५ खर्ब २४ अर्ब रुपैयाँमा सिमित भएको थियो । यस्तै, कार्तिक १८ गते बढेर ४५ खर्ब ४५ अर्ब रुपैयाँ र कार्तिक २५ गते ४५ खर्ब ४६अर्ब रुपैयाँ निक्षेप पुगेकोमा कार्तिक ३० गते बढेर ४५ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको हो ।
प्रकाशित मितिः २०७९ मंसिर ०६ मंगलबार
Comments