काठमाडौं । कोभिडको संक्रमणले निको भइसकेपछि पनि फोक्सोमा तीन महिनाभन्दा धेरै समयसम्म खराबी गराइरहेको पाइएको छ ।
अक्सफोर्ड विश्वविद्यालयमा १९ र ६९ वर्ष उमेरबीचका १० जना बिरामीमाथि गरिएको नौलो प्रविधिको परीक्षणले साधारण स्क्यानले पत्ता लगाउन नसकेको फोक्सोको क्षति देखाएको हो । तीमध्ये आठजनाले संक्रमण भएको तीन महिना बितिसक्दा पनि निरन्तर स्वाँस्वाँ आउने तथा थकानको अनुभव भइरहेको बताएका थिए । संक्रमणको क्रममा तीमध्ये कसैलाई पनि सघन उपचार वा भेन्टिलेसनको आवश्यकता परेको थिएन ।
साधारण स्क्यान गर्दा संक्रमितको फोक्सोमा कुनै खराबी भने भेटिएको थिएन । तर, नयाँ विधिबाट जाँच्दा फोक्सोमा भएको क्षति प्रष्टरुपमा देखिएको थियो । नौलो विधिअन्तर्गत एमआरआई स्क्यानका बेला जिनन नामक ग्यास प्रयोग गरेर चित्र बनाउँदा फोक्सोमा क्षति देखिएको हो । परीक्षणको नेतृत्व गरिरहेका प्राध्यापक फर्गस ग्लीसनका अनुसार कोभिडले फोक्सोमा यो स्तरसम्मको क्षति पुगाको हुन सक्छ भनेर नसोचेको थिइन ।
धेरैजसो संक्रमितले लामो समयसम्म संक्रमणपछि पनि समस्या अनुभव गरिरहेको दीर्घ कोभिडको पछाडि जिनन स्क्यानले देखाएका फोक्सोमा पुगेको क्षति नै मुख्य कारण हुनसक्ने उनको भनाइ छ । १० जनामा आएको नतिजापछि उनले अब १०० जनामा फोक्सोको क्षति र त्यो स्थायी हो वा होइन भनेर जान्नका लागि परीक्षण गर्ने योजना बनाएका छन् ।
अक्सफोर्डकी चिकित्सक डा। शेली हेल्सका अनुसार कोभिडबाट संक्रमित भएकामध्ये १० प्रतिशत जतिको फोक्सोमा यस्ता क्षति पुगेको हुनसक्छ, जसले गर्दा लामो समयसम्म केही न केही लक्षण देखिइरहेको हुनसक्छ । आस्थमा यूके तथा ब्रिटिस लङ् फाउन्डेसनकी अनुसन्धान निर्देशक डा। सामन्था वाकरले कोभिडले फोक्सोमा पुर्याउने क्षतिबारे थप र विस्तारपूर्ण ढंगले परीक्षण हुनैपर्ने कुरामा जोड दिएकी छिन् ।
परीक्षणले फोक्सोमा क्षति पुग्ने देखाउँछ भने यसले क्षतिको स्तर नाप्ने परीक्षण विधिको तथा विशेष उपचारको पनि विकास हुनसक्ने उनी बताउँछिन् ।
Comments