काठमाडौँ। कोरोना भाइरस संक्रमण भएका पूर्वमन्त्री तथा कांग्रेस सांसद मीन विश्वकर्माको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि ग्रान्डी अस्पतालको भेन्टिलेटरमा राखिएको छ।
कात्तिक १ गते ५३ वर्षीय पूर्ववाणिज्य मन्त्री तथा कांग्रेस नेता विश्वकर्मालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएको ८ दिन नेता विश्वकर्मा होम आइसोलेसन बसे।
होम आइसोलेसन बसेका विश्वकर्मालाई सास फेर्न असजिलो हुन थालेपछि कात्तिक ९ गते उपचारका लागि वीर अस्पताल पुर्याइयो। तीन दिनसम्म उनी वीर अस्पतालमै उपचाररत थए। तर, उनको स्वास्थ्यमा सुधार नदेखिएपछि थप उपचारका लागि कात्तिक १२ गते उनलाई ग्राण्डी अस्पताल सारिएको थियो।
अस्पतालले आइसीयुमा भए पनि विश्वकर्माको स्वास्थ्य स्थिति स्थीर रहेको बताउँदे आएको थियो। अस्पतालका निर्देशक डा चक्रराज पाण्डेले विश्वकर्माको उपचारका लागि आफूहरुले सम्पूर्ण विधि प्रयोग गरिसकेका बताएका छन्।
डा पाण्डेका अनुसार शनिबार दिउँसो भने उनको स्वास्थ्य स्थिति खस्किँदै गएपछि उनलाई भेन्टिलेटरमा सारिएको छ।
प्रकाशित मितिः २०७७ कार्तिक १५ शनिबार
Comments