भक्तपुर । कोरोना भाइरसको महामारी कारण यस वर्ष भक्तपुरमा नयाँ ईटा उत्पादन नहुने भएको छ । कोरोनाका कारण यस वर्ष विकास निर्माण, निजी आवास निर्माण लगायतका कामहरु निक्कै न्युन गतिमा सञ्चालन भएकाले र नगरपालिकाले उद्योग सञ्चालनमा भीडभाड नगर्ने र यस वर्ष उद्योग सञ्चालन नगर्ने अनुरोध गरेपछि भक्तपुरका व्यवसायीहरुले यस वर्ष ईटा उत्पादन नगर्ने भएका हुन् ।
प्रत्येक वर्ष धान काट्न सकेपछि भक्तपुरमा ईटा भट्टाको सिजन सुरु हुने गर्दछ , तर यस वर्ष भने कोरोना महामारीका कारण नयाँ ईटा उत्पादन नहुने व्यसायीहरु बताउँछन् ।
व्यवसायीहरुले ईटा उत्पादन नगर्ने भएपछि करिब ५० हजार कामदारहरुले रोजगारी गुमाउने भएको भक्तपुर ईटा व्यवसायी संघका अध्यक्ष नातीभाई हेम्बाले जानकारी दिए ।
ईटा उत्पादन नभएपछि व्यवसायीले नगरपालिकालाई स्थानीय कर बापत बुझाउनु पर्न प्रति भट्टा ७ लाख रुपैयाँ समेत नबुझाउने निर्णय गरिएको उनले बताए । ईटा उत्पादन नहुने भएपछि भक्तपुरका प्रति व्यवसायीलाई ४० लाख रुपैयाँ घाटा पर्नेछ ।
भक्तपुरका ईटा भट्टाहरुमा विषेश गरि रोल्पा, रुकुम, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, सिन्धुली, सिराहा र सर्लाही जिल्लाका मजदुरहरु आउने गर्दछन् ।
यस वर्ष नयाँ ईटा उत्पादन नभएपनि बजारमा पर्याप्त ईटा भएकाले ईटाको अभाव नहुने र मूल्य पनि नबढ्ने अध्यक्ष हेम्बाले बताए ।
भक्तपुर ईटा भट्टा संघका तथ्यांक अनुसार जिल्लामा ६२ वटा ईटा भट्टाहरु छन् । एक ईटा भट्टाको लागि झन्डै ५० रोपनी खेत चाहिन्छ । यहाँका खेतमा धान बाली हुने बेला सबै ठाउँमा धान बाली लगाउने गर्छन । तर गहुँ बालीको समयमा भने बाली देखिन्दैन् किनभने गहुँ बाली नगरीकन ईटा भट्टालाई खेत दिने गर्दछन् । त्यसैले गहुबाली हुने बेला सबैतिर ईटा भट्टा हुने गर्छ ।
यो बेला सुरु भएको ईटा भट्टा बैशाखमा समाप्त हुन्छ । बैशाख पछि किसानहरुले फेरी धानको विउ लगाइ असारमा रोप्ने गर्दछन् ।
प्रकाशित मितिः २०७७ कार्तिक १५ शनिबार
Comments