काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौं उपत्यकामा समुदायमा कोरोना संक्रमण फैलिएमा स्थिति भयावह हुन सक्ने भन्दै बेलैमा ध्यान पुर्याउन सरकारलाई आग्रह गरेको छ।
आयोगले आइतबार विज्ञप्ति जारी गर्दै बढी संक्रमण प्रभावित स्थान र क्षेत्र पहिचान गरी रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न र पीसीआर परीक्षणलाई तीव्रता दिन माग गरेको हो।
काठमाडौँ उपत्यकाका ढलहरुमा समेत कोभिड–१९ को भाइरस भेटिएको भन्ने सञ्चारमाध्यममा सार्वजनिक भएपछि आयोगले सचेत गराएको हो।
आयोगले नेपाल बार एसोर्सिएसन, नेपाल पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघ नेपालसँगको सहकार्यमा देशभर कोभिड–१९ को सन्दर्भमा मानव अधिकार अवस्थाको अनुगमन गरिरहेको छ।
आयोगले यसअघि पनि पीसीआर परीक्षण बढाउन तथा क्वारेन्टिनहरू व्यवस्थित गर्न पटकपटक सरकारलाई आग्रह गर्दै आएको छ।
प्रकाशित मितिः २०७७ असार २१ आइतबार
Comments