काठमाडौं । निजी एम्बुलेन्स’ सञ्चालक बूढानीलकण्ठ नगरपालिकाका एक व्यक्तिमा कोरोना भाइरस कोभिड–१९ संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सोमबार थपिएका ७२ कोरोना संक्रमितमा बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ का ३७ वर्षका एक पुरुष रहेको जनाएको छ । उनी आफ्नो निजी गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गरेर अप्ठ्यारोमा परेकाहरूलाई अस्पताल पुर्याउँथे भने नगरापालिकाले पाँच निजी एम्बुलेन्सका लागि अनुमति दिएको थियो ।
बुढानीलकण्ठ नगरपालिकाले जेठ ८ र ९ गते २ सय ७६ जनाको आरडीटी विधिबाट परीक्षण गरेको थियो । त्यस क्रममा ती पुरुषको रिपोर्ट नेगेटिभ आएको थियो । त्यसपछि ती पुरुषसहित ५१ जनाको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिएको थियो । ५१ जनामध्ये ती पुरुषको मात्र रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई टेकु अस्पतालको आइसोलेसनमा लगिएको छ ।
प्रकाशित मितिः २०७७ जेठ १२ सोमबार
Comments