भक्तपुर । चैते दशैं पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइदै छ । चैत र असोजमा गरी वर्षमा दुई पटक दशैं मनाउने गरिएको छ । पहिला पहिला चैतमा बडादशैं बनाउने गरिएको भए पनि खानपिनका कारण मानिसहरु बिरामी पर्न थालेपछि असोजमा दसैं मनाउन थालिएको हो ।
आश्विन शुक्लपक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दशैंलाई बडादशैं भनिन्छ । बडादशैंमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यो क्रम आश्विन शुक्ल पूर्णिमासम्म चल्छ ।
चैते दशैंमा भने त्यो परम्परा धेरै परिवारमा छैन् । हनुमानढोका दशैंघरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन पनि छ । चैते दशैंमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैतेदशैं र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रुमपा श्रीरामको जन्म भएकाले रामनवमीका रुपमा मनाउने गरिन्छ ।
विगत वर्षमा चैते दशैं पर्वका अवसरमा बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले देशभर लकडाउन गरेकाले घरबाटै मानसिकरुपमा दर्शन गर्न सकिने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा।डा। रामचन्द्र गौतम बताउँछन् ।
प्राचीनकालदेखि नै हनुमानढोका दरबारको दशैं घरमा चैते दशैंका दिन पनि बलिसहित पूजा गरिने गरिएकामा यस वर्ष कोरोना भाइरसको महामारीका कारण पूजा हुने तर बलि नदिइने भएको छ ।
प्रकाशित मितिः२०७६ चैत्र १९ बुधबार
Comments