भक्तपुर । कोरोना भाइरस कोभिड–१९ संक्रमणबाट नगरवासीलाई जोगाउन भक्तपुर नगरपालिकाले घर बाहिर निस्कन अनुमति पत्र लिनु पर्ने निर्णय गरेको छ ।
भक्तपुर नगरपालिकाले लकडाउन घोषणा गरिएको समयावधिमा अत्यावश्यक कार्यका लागि मात्र एक घरबाट एकजना मात्र बाहिर निस्कन सकिने गरी वडा कार्यालयहरु मार्फत अनुमति पत्र वितरण गर्ने निर्णय गरेको हो ।
तरकारी र खाद्यान्न पसलमा पनि हुलका हुल जान थालेपछि घर बाहिर निस्कन पनि पास लिनु पर्ने निर्णय गर्नु परेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताए ।
नगरपालिकाले एक घर धुरी एक पासको व्यवस्था गरेको छ । पास बिना घर बाहिर निस्कने व्यक्तिलाई कारवाही गर्न नगरपालिकाले प्रशासन कार्यालयमा पत्राचार समेत गरेको नगरप्रमुख प्रजापतिले बताए ।
नगरपालिकाले तरकारी बजार समेत व्यवस्थित गर्न खुल्ला स्थान तथा प्रत्येक वडाहरुमा बजार बिहान तीन घण्टा र बेलुकी २ घण्टा खोल्ने निर्णय गरेको छ । यस्तो पास भक्तपुरका करिब २० हजार घरघुरीलाई वितरण गर्ने नगरप्रमुख प्रजापतिले जानकारी दिए ।
प्रकाशित मितिः२०७६ चैत्र १८ मंगलबार
Comments