भक्तपुर । विश्वमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को जोखिमका कारण रगतको अभाव देखिन थालेको छ । सरकारले २५ जनाभन्दा बढी जमघट हुन नदिने निर्णय गरेसँगै रक्तदान कार्यक्रम हुन नसकेपछि रगत सञ्चयमा समेत कमि आएको हो ।
रगत नपाए भक्तपुर जानु भन्ने भनाइलाई ब्यवहारमा उतार्न नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाअन्तर्गत रक्तसञ्चार केन्द्रले रगत लिन आउनेका लागि रगतको ब्यवस्थापन गरिएको छ । विगतका वर्षमा काठमाडौँमा रगतको अभाव हुँदा पनि भक्तपुरमा पर्याप्त रगत हुने भएकाले रगत नपाए भक्तपुर जाउँ भन्ने भनाईले ब्यापकता पाएको थियो ।
कोरोना भाइरसका सन्त्रासले देशभर रक्तदान कार्यक्रम सञ्चलन गर्ने वातावरण नभएकाले समेत रगत सञ्चयमा कमी आएको नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका सभापति मनोजकुमार थापाले जानकारी दिए ।
भक्तपुरमा रगत लिन आउनेहरुलाई रित्तो हात फर्काउनु नपरेता पनि अधिक रगतको माग लिएर आउनेलाई समेत सक्दो रगत उपलब्ध गराएका छौं, थापाले बताए । आपतकालीन अवस्थाका बिरामीका लागि सम्र्पकमा रहेका झन्डै पाँचसय रक्तदातालाई फोन मार्फत सम्र्पक गरि रगतको उपलब्धता समेत गरेको उनले जानकारी दिए ।
बिगतका समयमा एक महिनामा एक हजार पिन्टभन्दा बढी रगत संकलन हुने गरेता पनि कोरोनाको सन्त्रासपछि रक्तसञ्चार केन्द्रमा मात्र रगत दिने ब्यवस्था गरिएको र ब्यापक मात्रामा कमी आएको उनले बताए । अहिले पनि काठमाडौै, ललितपुर र भक्तपुरका विभिन्न अस्पतालबाट बिरामीका आफन्त रगत लिन भक्तपुर आउने गरेकाले भक्तपुरमा रगतको माग बढी रहेको हो ।
प्रकाशित मितिः२०७६ चैत्र १० सोमबार
Comments