काठमाडौं । बडादशैंको अन्तिम दिन अर्थात आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ ।
आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी प्रारम्भ गरिएको बडादशैं आज कोजाग्रत पूर्णिमाको साँझ घरघरमा महालक्ष्मीको पूजा–आराधना गरी विसर्जन गरिन्छ ।
कोजाग्रत पूर्णिमाका दिन प्रतिपदाको दिन अर्थात घटस्थापनामा जम्मा गरेको माटाहरु र उमारेका जमराहरुलाई विधीपूर्वक कुनै नदी या जलाशयमा सेलाउने प्रचलन रहेको छ ।
आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेका मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ ।
यही विश्वासका कारण यस रात गृहिणीहरू जाग्राम बसी महालक्ष्मीको पूजा–आराधना गर्दछन् ।
कोजाग्रत पूर्णिमालाई दशैको अन्त्य र तिहारको शुरुवाती संकेतका रुपमा पनि लिइन्छ । विहानै सम्पूर्ण परिवारका सदस्यहरु भेला भएर भवानीको प्रसादका रुपमा टीका र जमरा लगाएर अनि जमराहरुलाई सेलाउने चलन छ ।
कोजाग्रत पूणिमाका दिन राष्ट्रप्रमुखबाट भक्तपुर गछेंस्थित नवदुर्गा पीठमा पुजा अर्चना गरी यस वर्षको बडादशैं समापन भएको जनाउ दिने प्रचलन रहेको छ ।
आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नान गरी घरघरमा विशेषरुपमा गरिने तुलसी पूजा पनि आजदेखि नै शुरु हुन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक स्नान गरेर महापातकबाट पनि मुक्त भइने विश्वास छ ।
कात्तिक स्नान गर्नेले आजदेखि कात्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ ।
कोजाग्रत पूर्णिमाका अवसरमा काठमाडौंको स्वयम्भू लगायतका चैत्यहरुमा राती महादीप ज्योती प्रज्जवलन गरिनेछ ।
प्रकाशित मितिः २०७६ असोज २६ आइतबार
Comments