भक्तपुर, १ बैशाख । भक्तपुरको प्रसिद्घ बिस्का जात्राको प्रमुख मानिने लिङ्गो आज साँझ साढे ५ बजे ढालिएको छ ।
बिस्का जात्राको चौथो दिन शनिबार साँझ ६ बजेमा भेलुखेलस्थित ल्यासिंखेलमा उठाइएको लिङ्गो आज तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी लिङ्गो ढालिएको हो ।
लिङ्गो ठड्याउनुअघि लिङ्गोको टुप्पोमा नाग र नागिनीको प्रतीकस्वरूप दुईवटा ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ वटा डोरीले तानेर उक्त लिङ्गो ठड्याइने प्रचलन रहेको छ । त्यही आठ वटा डोरीले आठ कुनामा बसेर लिङ्गो ढालिएको हो ।
लिङ्गो उभ्याइने र ढाल्ने जात्रा नै बिस्काको प्रमुख आकर्षण पक्ष हो । मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको बताइन्छ ।
लिङ्गो ढालेपछि ल्योसिङखेलबाट भैरवनाथको रथ गःहिटीमा ल्याएर भैरवनाथ र भद्रकालीको रथ जुधाईएको छ । राति दुमाजु देवीको जात्रा समेत हुन्छ ।
पुरानो वर्षको बिदाईमा लिङ्गो उभ्याउने र नयाँ वर्षको पूर्व सन्ध्यामा लिङ्गो ढाल्ने प्रचलन रहेको छ । भोलि जात्राको छैठौं दिन मध्यपुर थिमीमा बिहान सिन्दुर जात्रा र दिउँसो जिब्रो छेड्ने जात्रा मनाइन्छ ।
प्रकाशित मितिः२०७६ वैशाख १ आइतबार
Comments