काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक विधिबाट पठनपाठन सहजीकरणका लागि विद्यार्थीलाई इन्टरनेट सुविधा आगामी असोजबाट निशूल्क उपलब्ध गराउने तयारी गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सिकाई सहजीकरण निर्देशिकामा विद्यालय तथा विद्यार्थीलाई निशूल्क इन्टरनेट उपलब्ध गराउने व्यवस्था गरेको हो ।
गत भदौ १९ गते बसेको मन्त्रीपरिषद बैठकले विद्यार्थी सिकाई सहजिकरण निर्देशिका पारित गरेको थियो । सो निर्देशिकामा शिक्षा मन्त्रालयको भूमिका अन्तरगत भनिएको छ, ‘ नेपाल टेलिकम लगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट शैक्षिक प्रयोजनको लागि मात्र हुने गरी निशूल्क वा सहुलियत शूल्कमा डाटा प्याकेज प्राप्त गरी विद्यालय तथा विद्यार्थीलाई निःशूल्क उपलब्ध गराउने’ ।
इन्टरनेट महङ्गो भएर अनलाइन कक्षा प्रभावित भएको गुनासो आएपछि शिक्षा मन्त्रालयले निशूल्क इन्टरनेटको व्यवस्था गरेको हो । यो निर्देशिका असोज १ गतेदेखि अनिवार्य कार्यान्वयन गर्नुपर्ने छ । जसको लागि मन्त्रालयले संघ प्रदेश र स्थानीय तह तथा सरोकारवालालाई निर्देशन दिइसकेको छ ।
प्रकाशित मितिः २०७७ भदौ २६ शुक्रबार
Comments