काठमाडौं । टोकियो ओलम्पिकमा रजत पदक जितेकी पोल्यान्डकी खेलाडी मारिया आन्द्रेज्यकले एक बच्चाको उपचारका लागि आफ्नो पदक लिलामीमा राखेकी छिन् ।
८ महिनाका बच्चाको मुटुको सर्जरीका लागि रकम जुटाउन उनले पदक लिलामीमा राखेकी हुन् । पदक लिलामीबाट १ लाख २५ हजार डलर (करिब डेढ करोड नेपाली रुपैयाँ) रकम संकलन भएको छ ।
मुटुको गम्भीर समस्या देखिएका पोल्यान्डका बालक मिलोसेक मल्यसाको सर्जरी अत्यावश्यक थियो । उनको उपचारका लागि करीब ५ करोड नेपाली रुपैयाँ आवश्यक पर्ने उनको परिवारले जनाएको छ । जसमध्ये अहिलेसम्म आधा रकममात्र जुटेको छ । परिवारको अपीलपछि मारियाले आफ्नो पदक लिलामीमा राखेकी थिइन् । पोल्यान्डको सुपरमार्केट चेन जाब्का पोल्स्काले मारियाको मेडल १ लाख २५ हजार डलरमा खरिद गरेको हो ।
युरोपेली देशले उनको उपचार गर्न इन्कार गरेपछि उनको परिवार उपचारका लागि अमेरिका जान लागेको छ । क्यालिफोर्नियाको स्टान्डफोर्ड यूनिभर्सिटीको मेडिकल सेन्टरमा उनको उपचार हुने बताइएको छ ।
पदक मारियालाई नै
पदक खरिद गरेपछि जाब्काले पदक आफू नराख्ने भन्दै पदकको सुरक्षा र हेरविचारको जिम्मा मारियालाई नै दिएको छ । कम्पनीको यो निर्णयको अहिले सबैतिर चर्चा र प्रशंसा भइरहेको छ । जाब्काले लेखेको छ‚ ‘हामी मारियाको कदमप्रति एकदमै खुसी छौँ । हामी यसकारण पनि खुसी छौँ की हामिले मारियालाई सहयोग गर्न सक्यौँ ।’
मारियाले टोकियो ओलम्पिकमा महिला ज्याभलिन थ्रोमा रजत पदक जितेकी थिइन् । उनले फाइनलमा ६४.६१ मिटर ज्याभलिन फाल्दै पदक हात पारेकी थिइन् । उनी २०१६ को रियो ओलम्पिकमा भने केवल २ सेन्टीमिटरले मेडल जित्ने मौका गुमाएकी थिइन् ।
२०१८ मा मारिया आफैँ पनि गम्भीर बिरामी भएर निको भएकी थिइन् । उनलाई ‘ओस्टेओमा’ को लक्षण देखिएको थियो । यो एक बोन ट्युमर हो । यद्यपि २०१९ मा उनको सर्जरी भएको थियो । त्यसपछि उनी ठिक भएर ओलम्पिकमा सहभागी हुँदै रजत पदक जित्न सफल भएकी थिइन् । एजेन्सी
प्रकाशित मितिः २०७८ भदौ ०४ शुक्रबार
Comments