काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्। अपरान्ह ५ बजे कोरोना भाइरस संक्रमण (कोभिड-१९)का सम्बन्धमा सरकारले गरेका तयारीबारे उनले बालुवाटारबाट सम्बोधन गर्ने भएका हुन्।
कोरोना भाइरसको संक्रमण फैलाउन नदिन आमनागरिकले अपनाउनुपर्ने सावधानी तथा यसको रोकथामका लागि सरकारले गरेका कार्यबारे प्रधानमन्त्रीले सम्बोधनमार्फत् जानकारी गराउने प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए।
प्रधानमन्त्रीको सम्बोधन विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण र त्यसको असर हुन नदिन नेपालले अपनाउनुपर्ने सतर्कता तथा सरकारको तयारीबारे केन्द्रित हुनेछ ।
प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजन र रेडियो नेपालबाट प्रत्यक्ष प्रसारण हुनेछ। सरकारले यसअघि नै कोरोना भाइरसको संक्रमणबाट बच्न २५ जनाभन्दा धेरै भेला हुन नपाउने निर्देशन दिइसकेकाले सम्बोधनस्थलमा सञ्चारकर्मीलाई प्रवेश नदिइने भएको छ।
प्रकाशित मितिः २०७६ चैत्र ०७ शुक्रबार
Comments