भक्तपुर । भक्तपुर क्षेत्र नं १ क मा सम्पन्न प्रदेशसभा सदस्यको निर्वाचनमा १६ उम्मेदवारको जमानत जफत भएको छ ।
सो क्षेत्रमा ९ दलका ९ र १० स्वतन्त्र गरी कूल १९ जनाले मनोनयन दर्ता गराएकामा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाल मजदूर किसान पार्टीका उम्मेदवारबाहेक अन्य दल र स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
भक्तपुर क्षेत्र नं १ क को उपनिर्वाचनमा ४५ हजार १५ मतदातामध्ये ३२ हजार ३७ ले मतदान गरेका थिए । जमानत जोगाउनका लागि खसेको मतको १० प्रतिशत मत पाउनुपर्ने निर्वाचन ऐनमा उल्लेख छ । जमानत जोगाउनका लागि कम्तीमा ३ हजार २०३ मत चाहिने थियो ।
यस क्षेत्रको उपनिर्वाचनको चुनावी मैदानमा १९ जनामध्ये पाँच मत कटाउन नसकेका उम्मेदवारको संख्या ११ रहेको छ । नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भडेलले १३ हजार ४४९ मत पाएर विजयी भएका थिए । त्यस्तै, नेकपाका उम्मेदवार डिपी ढकालले ११ हजार २०६ र नेपाल मजदूर किसान पार्टीका उम्मेदवार नीरज लवजूले ५ हजार ८२९ मत पाएका थिए । यी तीन उम्मेदवारबाहेक अन्यले जमानत जोगाउन सकेनन् ।
राष्ट्रिय दलको मान्यताप्राप्त पार्टी समाजवादी पार्टीका उम्मेदवारको पनि जमानत जफत भएको छ । सो दलका सुदर्शनकुमार मुनुकर्मीले ३२ मत मात्र प्राप्त गरे ।
त्यस्तै राप्रपाका श्यामप्रसाद नेपालले ५७४, साझा पार्टीका सुरज प्रधानले ३९३, नेकपा (एमाले)का उम्मेदवार सुदर्शन लामिछानेले ३७, संघीय लोकतान्त्रिक राष्ट्रियमञ्चका मिङ्मार लामाले ५ र नेपाली काँग्रेस (बिपी)का मधुसुदन न्यौपानेले २ मत पाएका छन् ।
स्वतन्त्ररुपमा चुनावी मैदानमा उत्रेका जीवनचन्द्र अधिकारीले २८, उत्तम शाखकर्मीले ७, जीवन नेपालीले ७, राकेश सुवालले ५, सुमना कार्कीले ५, अर्जुन कोजूले ४, कृष्णप्रसाद ह्योगोले ४, कृष्णराम पोतामाहाले २, संगीता पौडेल आचार्यले २ र सुजाता देउजाले १ मत पाएका छन् ।
प्रकाशित मितिः २०७६ मंसिर १८ बुधबार
Comments