काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधानको प्रावधान विपरीत सभापति शेरबहादुर देउवाले विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनित गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
काठमाडौंको जोरपाटीस्थित नयाँ बस्ती युवा क्लबले आज आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता सिंहले सभापति देउवाले अप्रजातान्त्रिक ढंगले आफूखुसी गच्छदारलाई उपसभापतिमा मनोनित गर्ने निर्णय गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
उनले सभापति देउवालाई पार्टीलाई विधि र विधानसम्मत ढंगले अघि बढाउन पनि चेतावनी दिए ।
आफूसँग बहुमत छ भन्दैमा सभापति देउवा जथाभावी गर्दै हिँडेको नेता सिंहको आरोप छ ।
नेता सिंहले पार्टीलाई विधिसम्मत ढंगले अघि बढाएर जनतालाई राहत दिने र मुलुकको आर्थिक समृद्धिको नेतृत्व गर्न सक्ने सशक्त पार्टीको रुपमा विकास गर्न पार्टी नेतृत्वलाई दवाव दिनुपरेको पनि स्पष्ट पारे ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका सिंहले कामै गर्न नसकेको भन्दै सरकारको पनि चर्को आलोचना गरे ।
प्रकाशित मितिः २०७५ कार्तिक २१ बुधबार
Comments