२७ जेठ । राजकुमार हिरानीको फिल्म सञ्जुको हालै सार्वजनिक पोस्टरमा नरगिस दत्तको अनुहारसँग निक्कै मेल खाएको छ मनिषा कोइरालाको मुहार। रणवीर कपुरले सञ्जयको भूमिकामा यस फिल्ममा देखिँदैछन् भने मनिषा सञ्जयको आमा नरगिस दत्तको भूमिकामा। धेरैलाई सञ्जय दत्त र उनकी आमा नरगिससँगको भावनात्मक जीवन यात्राको जानकारी छैन, जुन नगरिसको निधनसँगै टुटेको थियो।
फिल्म सञ्जुको ट्रेलरमा बलिउड हिरोको ड्रग्स देखि महिलासँगको सम्बन्धका विविध पाटाहरु देखाइएको छ। नरगिस दत्त क्यान्सरसँग जुध्दै अमेरिकामा उपचार गरिरहँदा सञ्जय जीवनको कालो क्षण अर्थात् ड्रगिस्टका रुपमा थिए। नरगिसले आफ्नो छोरा सञ्जयसँग विछोडिँदा अडियो टेप रेकर्ड गरेकी थिइन्। सञ्जयले त्यो अडियोसमेत सुन्ने अवसर पाएनन् जवसम्म नर्गिसको मृत्यु भएन। जब उनले त्यो अडियो सुने उनी नरोई रहन सकेनन्।
निर्देशक राजकुमार हिरानीले यसलाई फिल्ममा कसरी उतारेका छन् पक्कै पनि रिलिजपछि थाहा हुनेछ। सञ्जयका जीवनका धेरै पाटोहरु अझै सार्वजनिक भएको छैन। हिरानीको फिल्मले ती पाटाहरुलाई सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। फिल्ममा रणवीर, मनिषासँगै परेश रावल, विक्की कौशल, सनम कपुर र दिया मिर्जाको अभिनय हेर्न पाइनेछ। फिल्म जुन २९ मा रिलिज हुँदैछ।
Comments