काठमाडौँ । क्रिष्टियानो रोनाल्डो बिहीन युभेन्टस च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको खेलमा बार्सिलोनासँग परातिज भएको छ ।
समूह जी अन्तर्गत भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब युभेन्टसलाई उसकै मैदानमा २ – ० ले पराजित गरेको हो ।
कोरोना भाइरसबाट संक्रमित भएका कारण रोनाल्डो आइसोलेशनमा छन्, सोही कारण बार्सिलोनासँगको खेलमा उनी खेल्न सकेनन् । भ्रमण टोली बार्सिलोनाका लागि उसमान डेम्बेलेले मेस्सीको सहयोगमा १४ औँ मिनेटमा गोल गरी अग्रता दिलाए ।
इन्जुरी समयको पहिलो मिनेटमा पाएको पेनाल्टीमा मेस्सीले गोल गरेपछि बार्सिलोना विजयी भयो । ८५ औँ मिनेटमा मेरिह डेमिरल दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि युभेन्टस १० खेलाडीमा सीमित भयो ।
जितपछि बार्सिलोना ६ अंकसहित समूहको शीर्ष स्थानमा पुगेको छ । तीन अंक कम रहेको युभेन्टस दोस्रो स्थानमा छ । सोही समूह अन्तर्गत बुधबार राति नै भएको खेलमा डिनामो कियभ र फेरेन्क्भारोसी टिसीले २-२ को बराबरी खेलेर अंक बाँडेका छन् ।
समूह एफ अन्तर्गतको खेलमा बोरुसिया डर्टमुण्डले जेनिट सेन्ट पिटर्सबर्गलाई २-० ले पराजित गरेको छ । उसका लागि जोडन सान्चो र एर्लिङ्ग ब्राउट हल्याण्डले गोल गरे । यस्तै लाजिओ र क्लब ब्रूगले १-१ को बराबरी खेलेर अंक बाँडेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७७ कार्तिक १३ बिहिबार
Comments