काठमाडौं । अमेरिकाका एक अश्वेत नागरिकमाथि गोली प्रहारको विरोधमा बास्केटबलको एनबीए, फुटबलको मेजर लिग सकर एमएलएस र बेसबलको एमएलबीका खेलहरु स्थगित गरिएको छ ।
अमेरिकाको विस्कन्सिन राज्यमा आइतबार प्रहरीले अश्वेत नागरिक ज्याकोब ब्लेकलाई गोली प्रहार गरेका थिए । जसको विरोधमा अमेरिकामा जारी खेलकुदका ठुला प्रतियोगिताहरु स्थगित गरिएको हो ।
बुधबार एनबीएको ३ प्ले अफ खेलहरु स्थगित गरिएको छ । यस्तै एमएलएसका पाँच खेलहरु स्थगित गरिएको छ । टिमले विरोध स्वरूप नखेल्ने जनाएपछि एमएलबीको दुई खेल समेत स्थगित गरिएको थियो ।
गोली प्रहारको विरोधमा टेनिस खेलाडी ओसाका नाओमीले वेस्टर्न एण्ड साउदर्न सिनसिनाटी ओपनको सेमिफाइनल खेल नखेल्ने घोषणा गरेकी छिन् ।
प्रहरीको गोलीबाट घाइते भएका २९ वर्षीय ब्लेकको उपचार भईरहेको छ । ब्लेकलाई प्रहरीले कयौं पटक गोली प्रहार गरेको भिडियो अहिले भाईरल बनेको छ । उनलाई गोली प्रहार गर्नुको कारण भने खुलेको छैन । ब्लेकलाई गोली प्रहारको विरोधमा अमेरिकामा प्रदर्शन समेत चर्किएको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ भदौ ११ बिहिबार
Comments