काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले गौतम सुखजु नेतृत्वको भक्तपुर जिल्ला फुटबल संघको कार्यसमितिलाई भंग गर्दै १३ सदस्यीय तदर्थ कमिटि गठन गरेको छ ।
मंगलबार बसेको एन्फा कार्यसमितिको आपतकालिन बैठकले विधान विपरित कार्यसमिति निर्वाचित भएको देखिएको भन्दै एन्फाले भक्तपुर जिल्ला संघको कार्यसमितिलाई भंग गर्दै किशोर हेक्काको अध्यक्षतामा १३ सदस्यीय भक्तपुर जिल्ला तदर्थ कमिटि गठन गरेको हो ।
एन्फाले विज्ञप्ती जारी गर्दै कोभिड-१९ का कारण सरकारले गरेको लकडाउनको पूर्ण रुपमा अन्त्य भए पश्चातको ६ महिना भित्रको कार्यदेश रहने गरि तदर्थ समिति गठन गरेको उल्लेख गरेको छ ।
तदर्थ समितिको उपाध्यक्षमा अनिल हेक्का, विकास थापा छन् भने सदस्यमा प्रविण लाखेमरु, राजेश श्रेष्ठ, रोशन श्रेष्ठ, हरिकृष्ण सहकल, रामुकार लोहला, रुपेश धौवन्जार, सुरेन्द्र भाषिमा, सुरेन्द्र प्रजापति, कृष्णचन्द्र चक्रधर र सुमन थापा छन् ।
भक्तपुरको बिषयमा अनुसन्धान गर्न एन्फाले लिग निर्देशक सञ्जिव मिश्र र कार्यसमिति सदस्य मधुसुधन उपाध्यायको नेतृत्वमा कमिटि गठन गरेको थियो ।
दुवै कमिटिको प्रतिवेदनका आधारमा एन्फा कार्यसमिति बैठकले भक्तपुर जिल्ला फुटबल संघलाई भंग गर्दै तदर्थ कमिटि गठन गर्ने निर्णय गरेको हो ।
यस्तै, बैठकले तासी घलेलाई एन्फाको मानार्थ अध्यक्ष पुनः मनोनयन गरेको छ ।
प्रकाशित मितिः २०७७ असार ३ बुधबार
Comments