काठमाडौं । प्रिमियर लिग क्लब चेल्सीले जर्मन स्टार टिमो वार्नर अनुबन्धको दौडमा अगाडी देखिएको छ । चेल्सीले बुन्डेसलिगा क्लब आरबी आईपेजिगका फरवार्ड वार्नरलाई अनुबन्धका लागि छलफल अघि बढाएको हो । रिपोर्टका अनुसार चेल्सी वार्नर अनुबन्धको निकै नजिक पुगेको छ ।
२४ बर्षका जर्मनका खेलाडी पछिल्लो समय लिभरपुलसंग जोडिएका थिए । वार्नरले समेत लिभरपुलसंग जोडिनु आफ्ना लागि गर्वको बिषय भएको बताएका थिए । ब्रिटिस मिडियाका अनुसार लिभरपुल वार्नर अनुबन्धमा अनिच्छुक रहेको छ । वार्नरले यस सिजन मात्र लिगमा २५ गोल गरेका थिए ।
रिपोर्ट अनुसार क्लबले वार्नर अनुबन्धका लागि ५४ मिलियन पाउण्ड मुल्य तोकेको छ । गत महिनामात्र फ्रान्सेली खेलाडी ओलिभर जिराउडले चेल्सीसंंग एक बर्षको सम्झौता नविकरण गरेका थिए ।
जर्मनीका लागि २९ खेलमा वार्नरले ११ गोल गरेका छन् । वार्नर लण्डन क्लबसंग जोडिए अर्को सिजनका लागि उनी चेल्सीको दोस्रो हस्ताक्षर हुनेछन् । चेल्सीले गत फेब्रुअरीमा मात्र अजाक्सका विङ्गर हाकिम जियचलाई ३७ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो ।
वार्नर घरेलु क्लबबाट सन् २०१६ मा लाईपेजिग आएका हुन् । पछिल्लो खेलमा उनकै ह्याट्रिकको सहयोगमा क्लबले मेन्जलाई ५–० गोल अन्तरले हराएको थियो ।
गत जनवरीमा मात्र चेल्सी प्रशिक्षक फ्रान्क लाम्पार्डले पेरिस सेन्ट जर्मेनका स्टार एडिन्सन काभानी र नेपोलीका ड्राईस मेर्टेस अनुबन्धका लागि कोशिश गरेका थिए । तर दुवै प्रयास सफल हुन सकेन । एजेन्सी
प्रकाशित मितिः २०७७ जेठ २३ शुक्रबार
Comments