काठमाडौं । स्पेनिस फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ।
२१ वर्षीय गार्सिया मालागा सहरको एट्लेटिको पोर्टाडा अल्टा क्लबको युवा टिमको प्रशिक्षक थिए। सन् २०१६ देखि प्रशिक्षक रहेका गार्सिया कोरोनाका कारण मालागा क्षेत्रमा मृत्यु हुनेमा पाँचौ र कान्छा व्यक्ति बनेका छन्।
उनको आइतबार राति मृत्यु भएको हो। उनलाई गत साता कोरोना भएको पुष्टि भएको थियो। कोरोना भएपछि उनलाई मालागाको क्षेत्रीय अस्पतालमा भर्ना गरिएको थियो। प्रशिक्षकको मृत्यु भएपछि क्लबले सामाजिक सञ्जालमार्फत दुख व्यक्त गरेको छ।
कोरोनाका कारण स्पेनका सबै लिग स्थगित गरिएका छन्। स्पेनमा अहिलेसम्म ९ हजार भन्दा बढीलाई कोरोना भएको पुष्टि भइसकेको छ भने ३ सय ९ जनाको मृत्यु भइसकेको छ।एजेन्सी
प्रकाशित मितिः २०७६ चैत्र ०४ मंगलबार
Comments