काठमाडौं । नेपालले थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटमा पहिलो जित निकालेको छ । बैंककको टेर्डथाई क्रिकेट मैदानमा आज भएको तेस्रो खेलमा आयोजक थाइल्याण्डलाई ९ विकेटले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो ।
थाइल्याण्डले दिएको ६७ रनको सामान्य लक्ष्य ५ ओभर ३ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्दै नेपालले कीर्तिमानी जित निकालेको हो । टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालको यो कीर्तिमानी जित हो ।
नेपालका लागि कुशल मल्लले अविजित रहँदै ३६ र पवन सर्राफले अविजित २७ रन जोडे । पारस खड्का भने ९ रनमा आउट भए । थाइल्याण्डका नोप्पोन सेनामोन्त्रीले १ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा अलआउट हुँदै ६६ रन बनाएको थियो । थाइल्याण्डका लागि फिरियापोङ सुआनचुईले पनि अविजित १३, हेन्नो जोर्डनले १३, नाभिद पठानले ८ र जिउल हकले ५ रन बनाए ।
नेपालका करण केसीले ३, अविनाश बोहराले २ तथा भुवन कार्की र सन्दीप लामिछानेले १/१ विकेट लिए । जितसँगै नेपालले ३ खेलमा २ अंक जोडेको छ । र, नेपालले शीर्ष दुईमा रहँदै एसिया कप छनोटमा पुग्ने सम्भावना कायम राखेको छ ।
आजै नै हुने खेलमा हङकङले सिंगापुरलाई हराएमा नेपालको सम्भावना कायम रहनेछ । सिंगापुरले जित निकालेमा नेपाल एक खेल अगाबै बाहिरिने छ । थाइल्याण्डको यो लगातार चौंथो हार हो । थाइल्याण्ड पुछारमा रहेको छ ।
नेपालले अन्तिम खेल शुक्रबार सिंगापुरसँग खेल्ने छ । नेपाल पहिलो खेलमा मलेसियासँग २२ रन र दोस्रो खेलमा हङकङसँग ४३ रनले पराजित भएको थियो ।
प्रकाशित मितिः २०७६ फागुन २१ बुधबार
Comments