काठमाडौं । क्रिष्टियानो रोनाल्डो आफ्नो भव्य खेल जीवनको १,००० औँ खेलमा सहभागी हुँदै छन् । इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति हुने खेलमा युभेन्टसका रोनाल्डोले जीवनको महत्वपूर्ण खेल खेल्न लागेका हुन् ।
शनिबार राति युभेन्टसले एसपिएएलसँग प्रतिस्पर्धा गर्दैछ । पोर्चुगलका रोनाल्डोले अहिलेसम्म क्लब फुटबलमा ८३५ तथा राष्ट्रिय टिमबाट १६४ खेल खेलेका छन् । उनले अहिलेसम्म समग्रमा ७२४ गोल गरेका छन् । पाँच पटक बालोन डी’ओर अवार्ड जितेका रोनाल्डोको खेल जीवनको सुरुवात लिस्बोनको क्लब स्पोर्टिङ्गबाट भएको हो । सन् २००२ देखि २००३ सम्म उनले स्पोर्टिङ्गबाट ३१ खेलमा सहभागिता जनाए ।
१८ वर्षको उमेरमा उनले म्यानचेस्टर युनाइटेडको यात्रा तय गरे । ६ वर्ष त्यहाँ रहेर २९२ खेलमा आफ्नो कौशल प्रस्तुत गरे । उनी सन् २००९ मा स्पेनिस क्लब रियल मड्रिड गए र त्यहाँ सन् २०१८ सम्म रहे । त्यसपछि उनले इटालीको यात्रा गरेका हुन् युभेन्टसको महत्वपूर्ण खेलाडीका रुपमा । क्लब प्रतिस्पर्धामा सन् २००२–२००३ को सिजनमा पाँच गोल गरेका उनले त्यसपछिका तीन सिजन क्रमशः ६, ९ र १२ गोल गरे । सन् २००६–२००७ को सिजनमा २३ गोल गरेका उनले त्यसपछिका तीन सिजनमा क्रमशः ४२, २६ र ३३ गोल गरे ।
क्लब प्रतिस्पर्धामा रोनाल्डोले सन् २०१०–२०११ को सिजनमा ५० गोलको आँकडा पारे गरे, उनले सो सिजनमा ५३ गोल गरे । त्यसपछिका आठ सिजन उनले क्रमशः ६०, ५५, ५१, ६१, ५१, ४२, ४४ र २८ गोल गरेका छन् । यो सिजन उनले २४ गोल गरिसकेका छन् क्लब प्रतिस्पर्धामा । राष्ट्रिय टिमबाट खेल्ने क्रममा रोनाल्डो उमेर बढ्दै जाँदा थप राम्रो हुँदै गएको देखिएको छ । रोनाल्डो सन् २००३–२००४ देखि राष्ट्रिय टिममा छन्।
पहिलो सिजन पोर्चुगलका लागि दुई गोल गरेका उनले त्यसपछिका वर्षमा क्रमशः ७, ३, ५, ४, १, १, ३, ९, ४, ११, ५, ६, १४, १० र ३ गोल गरेका छन् । उनले यो सिजन राष्ट्रिय टिमका लागि ११ गोल गरिसकेका छन् । रोनाल्डोले रियल मड्रिडका लागि सबैभन्दा बढी ४५० गोल गरेका छन् । उनले म्यानचेस्टर युनाइटेडका लागि ११८, पोर्चुगलका लागि ९९, युभेन्टसका लागि ५२ तथा स्पोर्टिङ्गका लागि पाँच गोल गरेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७६ फाल्गुन १० शनिबार
Comments