काठमाडौं । नर्वेका किशोर खेलाडी आर्लिङ ब्राउट होल्याण्डको दुई गोलको मदतमा जर्मन क्लब बोरुस्सिया डर्टमुन्डले युरोपियन च्याम्पियन्स लिगअन्तर्गत अन्तिम-१६ को पहिलो लेगमा मंगलबार राती उपाधि दावेदार पेरिस सेन्ट जर्मेन-पीएसजीलाई २-१ गोलले हरायो।
नेमार, केलियन एमबाप्पेसहित विश्वचर्चित पहिलो रोजाईका खेलाडीसहित उत्रिएको पीएसजीलाई डर्टमुन्डले हराउँदा होल्याण्ड नायक बने। अस्ट्रियन क्लब एफसी साल्जबर्गबाट स्थानान्तरण भएयता युरोपियन च्याम्पियन्स लिगमा डर्टमुन्डका लागि होल्याण्डले खेलेको यो पहिलो खेल थियो।
खेलको अन्तिम समयमा दुवै टोलीले गोल गरेका थिए। होल्याण्डले ६९ औँ मिनेटमा गोल गरे पनि पीएसजीले नेमारमार्फत ६ मिनेटलगत्तै खेल बराबरीमा ल्याएको थियो। तर होल्याण्डले ७७ औँ मिनेटमा पुन गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। समूह चरणमा एउटै खेल नहारेको पीएसजी नकआउट चरणमा हार व्यहोरेलगत्तै दबाबमा देखिएको छ।
१९ वर्षीय होल्याण्ड यो सिजन उत्कृष्ट लयमा छन्। उनले युरोपियन च्याम्पियन्स लिगमा १० गोल र एक असिस्ट गर्दै सर्वाधिक गोलकर्ताको सूचिमा शीर्षस्थानमा छन्। उनले प्रतियोगितामा साल्जबर्गका लागि ६ खेलमा ८ गोल गरेका थिए।
साल्जबर्ग समूह चरणबाटै बाहिरियो भने होल्याण्ड पनि जर्मन क्लबमा स्थानान्तरण भए। यो सिजन उनले दुवै क्लबका लागि गरि घरेलु लिगमा २४ गोल गरेका छन्। उनले साल्जबर्गका लागि १६ र डर्टमुन्डका लागि ८ गोल गरेका छन्। उनले यो सिजन समग्रमा २९ खेलमा ३९ गोल गरेका छन्।
उनी युरोपियन क्लबमध्ये यो सिजन सबैभन्दा बढी गोल गर्ने खेलाडी रहेका छन्। उनीभन्दा पछाडि, जर्मन क्लब बायर्न म्युनिखका रोबर्ट लेवाण्डोस्की रहेका छन्। उनले ३१ खेलमा ३६ गोल गरेका छन्। यी पोलिस स्ट्राइकरले घरेलु लिगमा २२ खेलमा २३ गोल र युरोपियन च्याम्पियन्स लिगमा १० गोल गरेका छन्।
फिफा वर्ष खेलाडी लियोनल मेस्सीले यो सिजन क्लबका लागि २७ खेलमा १९ गोल गरेका छन्। उनले घरेलु लिगमा १४ र युरोपियन च्याम्पियन्स लिगमा दुई गोल गरेका छन्। इटालियन सिरिए क्लब युभेन्ट्सका लागि खेलिरहेका क्रिस्टियानो रोनाल्डोले यो सिजन २९ खेलमा २४ गोल गरेका छन्। उनले २० लिग गोल र २ च्याम्पियन्स लिग गोल गरेका छन्। पीएसजीका ब्राजिलियन स्ट्राइकर नेइमारले १९ जारी सिजन १९ खेलमा १६ गोल मात्र गरेका छन्।
प्रकाशित मितिः २०७६ फागुन ७ बुधबार
Comments