काठमाडौं । वीरगन्जमा जारी स्वर्गीय गिरिजा प्रसाद कोईराला फाउण्डेशन प्रथम प्रदेशस्तरीय फुटबल प्रतियोगितामा मंगलबार बारा फुटबल संघले सिराहा फुटबल संघलाई पराजित गरेको छ ।
वीरगन्जको आदर्शनगर रंगशालामा भएको खेलमा सिराहालाई बाराले ३–१ गोलले पराजित गरेको हो । खेलको पहिलो हाफमा बराबरी खेलेको बाराले दोश्रो हाफमा थप दुई गोल गरेपछि बारा विजयी भएको छ । खेल शुरु भएको पाँचौ मिनेटमा नै बाराका जर्सी नम्बर चन्दन महतोले एक गोल हानेर खाता खोलेका थिए ।
सिराहाका जर्सी नम्बर १० का दिपेन्द्र कुमार चौधरीले २७ औं मिनेटमा गोल फर्काएपछि खेल पहिलो हाफको खेल बराबरी भएको थियो । तीनजना विदेशी खेलाडी सहित मैदानमा उत्रिएको सिराहाले शुरुदेखि नै बारालाई दबावमा राखेको थियो । तर, बाराका खेलाडीहरु तीन विदेशी खेलाडीहरु सहितको सिराहा टिमसँग अन्तिमसम्म निकै कडा चुनौती दिएका थिए ।
दोश्रो हाफको २६ औं मिनेटमा जर्सी नम्बर ८ का राजु चौधरीले एक गोल गरे । त्यसपछि बाराकै जर्सी नम्बर १२ का सुरज गौरोले ३३ औं मिनेटमा एक गोल गरेपछि सिराहा ३–१ ले पछि परेको हो । मंगलबारको जीतसँगै बारा सेमीफाईनलमा प्रवेश गरेको छ ।
प्रकाशित मितिः २०७६ माघ २२ बुधबार
Comments