काठमाडौं । एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०७५ फागुन ६ गते हुने भएको छ । अवार्ड आयोजक नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले आइतबार पत्रकार सम्मेलनमा सोबारे जानकारी गराए ।
यसपटक वसन्तपुर डबलीमा विभिन्न २८ खेलका पुरुषरमहिलासहित २८ खेलाडीलाई अवार्ड प्रदान गरिनेछ । इन्डोनेसियामा भएको १८औं एसियाली खेलकुदको प्रदर्शनलाई आधार मानी चयन गरिएका खेलहरूमा फुटबल, पौडी, भलिबल, टेबलटेनिस, सुटिङ, बक्सिङ, भारोत्तोलन, पाराग्लाइडिङ, कुराँस, कबड्डी, फेन्सिङ, रोलर स्पोर्ट्स, स्क्वास, सेपाकताक्रो, कुस्ती, स्पोर्ट्स क्लाइम्बिङ, बास्केटबल, लनटेनिस, ब्याडमिन्टन, ट्रायथलन, पेन्केक सिलात, कराँते, जुडो, तेक्वान्दो, उसु, आर्चरी, एथलेटिक्स र गल्फ रहेका छन् ।
यी खेलका विजेतालाई जनही १० हजारसहित ट्रफी प्रदान गरिनेछ । सम्बन्धित खेल संघको सिफारिसमा विजेताको चयन गरिनेछ । नगद पुरस्कारमा खेलाडी संघले पाँच हजार र सम्बन्धित खेल संघले पाँच हजार उपलब्ध गराउनेछन् । विजेतामध्येबाट पुरुष र एक महिला खेलाडीलाई सर्वोत्कृष्ट पुरस्कारसहित जनही एक लाख रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
संघले अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा स्थापित गजराज जोशी आदर्श खेलाडी सम्मानबाट एक खेलाडीलाई पनि पुरस्कृत गर्नेछ । यो अवार्डको विजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । खेलकुदतर्फ २०७५ सालमा उत्कृष्ट प्रदर्शन गर्ने एक पारा खेलाडीलाई पनि सम्मान गरिने आयोजकले जनाएको छ । अवार्डलाई काठमाडौं महानगरपालिका र ग्लोबल आईएमई बैंकले सहयोग गर्ने भएको छ ।
प्रकाशित मितिः २०७६ माघ १३ सोमबार
Comments