काठमाडौँ । साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिप प्रतियोगिताको पाँचौं संस्करण आज बुधबारदेखि भारतमा सुरु हुँदैंछ ।
प्रतियोगिताको उद्घाटन खेल भारतको कल्याणीस्थित कल्याणी रंगशालामा अपरान्ह सवा १२ बजे नेपाल र भारतबीच हुनेछ ।
प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन् । राउण्ड रोविनको आधारमा खेलाइने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।
यू १५ साफ च्याम्पियनका अहिलेसम्मका सबै संस्करणमा भाग लिएको नेपालले उपाधि भने जित्न सकेको छैन । उपाधि जित्ने लक्ष्य लिएको नेपाल पहिलो खेलमा बलियो टोली भारतलाई स्तब्ध बनाउने योजनामा रहेको छ ।
भारतपछि नेपालले शुक्रबार श्रीलंका, तेस्रो खेलमा आइतबार बंगलादेश र अन्तिम खेलमा अर्को साताको बुधबार भुटानको सामना गर्नेछ ।
प्रकाशित मितिः २०७६ भदौ ४ बुधबार
Comments