काठमाडौँ । बार्सिलोना र रियल मड्रिडले नेइमारलाई क्लब भित्र्याउनका लागि गरेको प्रयास असफल भएको बिबिसीले उल्लेख गरेको छ।
बार्सिलोना तथा रियल मड्रिडले नेइमारका लागि गरेको प्रस्ताव फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन पिएसजीले अस्वीकार गरेको बिबिसीका गुइलेम बालागुएले बताएका छन् ।
नेइमारका लागि बार्सिलोनाले ९२.४ मिलियन युरो तथा फिलिप कोन्टिन्हो तथा इभान रेकिटिकको प्रस्ताव गरेको थियो । यस्तै रियल मड्रिडले नेइमार भित्र्याउनका लागि रकम तथा ग्यारेथ बेल र जेम्स रोड्रिग्वेजसहितको प्रस्ताव गरेको बताइएको छ ।
पिएसजीले विनिसिअस जुनियर चाहेको भए पनि रियल मड्रिडले उनको नाम प्रस्तावमा राख्न चाहेन।
दुवै क्लबको प्रस्ताव अस्वीकार गरिएको भए पनि हालसम्मको प्रगति हेर्दा पिएसजीले रियल मड्रिडको प्रस्तावमा बढी झुकाव राखेको बताइन्छ ।
नेइमार दुई वर्षअघि विश्व कीर्तिमानी मूल्य २२२ मिलियन युरोमा बार्सिलोनाबाट पिएसजी गएका थिए । लिग वानका दुई सिजनमा उनी चोटका कारण प्रभावित रहे तर उनले लिगमा ३४ गोल गरेका छन् ।
नेइमार हाल जुनै हालतमा भए पनि पिएसजीबाट बाहिरिन चाहन्छन् । उनी बार्सिलोना फर्किने चाहमा छन् । त्यो भएन भने रियल मड्रिड तर्फ पनि उनको नजर छ ।
तर दुवै क्लबले गरेको प्रस्ताव अस्वीकार भएको अवस्थामा अब प्रस्ताव गरिने छ या छैन वा गरिएमा त्यो प्रस्ताव स्वीकार हुने या नहुने भन्ने अन्यौल कायम छ । यसले गर्दा नेइमारको भविष्य पनि अन्यौलमा परेको छ ।
प्रकाशित मितिः २०७६ साउन ३० बिहिबार
Comments