काठमाडौं । लिग वान च्याम्पियन फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन पिएसजीले रेनलाई पराजित गर्दै चीनमा भएको ट्रोफी डेस च्याम्पियन्सको उपाधि जितेको छ । शनिबार भएको खेलमा पिएसजीले रेनलाई २–१ पराजित गरेको हो ।
फ्रेन्च कप विजेता रेनले सुरुवाति अग्रता लिएको थियो । रेनका लागि एड्रिएन हुनोउले गोल गरेका हुन् । तर निलम्बित नेइमार बिनाको पिएसजी त्यसपछि खेलमा फर्कियो ।
दोस्रो हाफको १२ औँ मिनेटमा केलियन एमबाप्पेले पिएसजीका लागि बराबरी गोल गरे । खेलको ७३ औँ मिनेटमा एन्जल डी मारियाले फ्रि–किक मार्फत उत्कृष्ट गोल गर्दै पिएसजीलाई जिताएका हुन्।
पिएसजीले सन् २०१३ यता हरेक वर्ष ट्रोफी डेस च्याम्पियन्सको उपाधि जित्दै आएको छ । उसले हालसम्म ९ पटक उपाधि जितेको छ । एजेन्सी
प्रकाशित मितिः २०७६ साउन १९ आइतबार
Comments