काठमाडौं । लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले ठुला खेलाडी अनुबन्धनको अपेक्षा नगर्न प्रशंसकहरुलाई आग्रह गरेका छन् । च्याम्पियनस लिग विजेता क्लबका प्रशिक्षक क्लोपले अहिलेको खेलाडी सरुवा बजारमा ठुलो रकम खर्च गर्न नसकिने बताएका हुन् ।
पछिल्ला खेलाडी सरुवा बजारमा लिभरपुलले ठुलो रकम खर्च गरेको थियो । जसले गर्दा उसले प्रिमियर लिग र युरोपेली प्रतियोगितामा राम्रो नतिजा निकाल्न सफल भएको थियो ।
उसले ठुलो मुल्यमा एलिसन, भर्जिल भान डिजिक र फाबिन्हो जस्ता मुख्य खेलाडी अनुबन्धन गरेको थियो । सोही कारण उसले च्याम्पियन्स लिगको उपाधि उचालेको थियो भने प्रिमियर लिगमा समेत विजेता म्यानचेष्टर सिटी भन्दा मात्र एक अंकले पछाडी रहेको थियो ।
तर नयाँ सिजन सुरु हुनु अघि खेलाडी सरुवा बजारमा लिभरपुलले खासै ठुलो चासो राखेको छैन । दुई युवा खेलाडीलाई क्लबमा ल्याउनु बाहेक कुनै ठुलो तयारी क्लबले गरेको छैन ।
तर प्रशिक्षक क्लोप क्लबको खेलाडी व्यापारबाट सन्तुष्ट छन् । उनले नयाँ सिजन समेत पुरानै टिममा विश्वास देखाएका छन् ।
‘हामी केही आराम गरिरहेका छौ । के अगाडी आउँछ भनेर हेरिरहेका छौ ।’ लिभरपुल प्रशिक्षकले भनेका छन् ।
‘हाम्रालागि यो कुनै ठुलो खेलाडी सरुवाको समय होईन । पछिल्ला दुई बर्षमा हामीले ठुलो रकम टिम बनाउन खर्च गरेका छौ । म भन्न चाहन्छु, हामी प्रत्येक बर्ष सोही मात्रामा लगानी गर्न सक्दैनौ ।’ उनले थपे, ‘मानिसहरु यस बिषयमा कुरा गर्छन् । अब ३ सय मिलियन पाउण्ड कि २ सय मिलियन पाउण्ड भनेर चर्चा गर्छन् । मलाई लाग्छ संसारका मात्र दुई क्लबले त्यो गर्न सक्छन् । यो बार्सिलोना र रियल मड्रिड देखिन्छ । अथवा सिटी वा पीएसजीले प्रत्येक बर्ष त्यो लगानी गर्न सक्छन् ।’
क्लोपले खेलाडी सरुवा बजारमा सुस्त हुदाँ केही प्रशंसकहरु दुखी रहेको बताउँदै टिममा विश्वास गर्न आग्रह समेत गरे । उनले चोटले सताईएका नाबी केईटा र जर्दान साकिरी चाँडैनै निको हुदै मैदान फर्कने उल्लेख गरे । एजेन्सी
प्रकाशित मितिः २०७६ साउन २ बिहिबार
Comments