काठमाडौँ। साविकको विजेता अष्ट्रेलियालाई हराउँदै आयोजक इंग्ल्यान्ड घरेलु मैदानमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
बिहिबार भएको दोस्रो सेमिफाइनलमा अष्ट्रेलियालाई ८ विकेटले कराउँदै इंग्ल्याण्ड फाइनलमा प्रवेश गरेको हो ।
अष्ट्रेलियाले दिएको २२४ रनको सामान्य लक्ष्य इंग्ल्याण्डले ३२ ओभर १ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।
इंग्ल्याण्डका लागि जासन रोयले ८५, जोय रुटले अविजित ४९, कप्तान इयान मोर्गनले अविजित ४५ र बेयरस्टोले ३४ रन बनाए ।
अष्ट्रेलियाका मिचेल स्टार्क र पाट कुमिन्सले १/१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै २२३ रन बनाएको थियो ।
अष्ट्रेलियाका लागि पूर्व कप्तान स्टिभ स्मिथले ८५, एलेक्स केरीले ४६, मिचेल स्टार्कले २९ र ग्लेन म्याक्सवेलले २२ रन नाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
इंग्ल्याण्डका क्रिस वोक्स र आदील रशिदले ३/३, जोफ्रा आर्चरले २ तथा मार्क उडले १ विकेट लिए ।
इंग्ल्याण्ड सन् १९९२ पछि पहिलो पटक विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।
अब इंग्ल्याण्डले उपाधिका लागि आइतबार न्युजिल्याण्डसँग खेल्नेछन् । न्युजिल्याण्ड भारतलाई १८ रनले हराउँदै यसअघि नै फाइनल पुगिसकेको छ ।
इंग्ल्याण्ड र न्युजिल्याण्ड फाइनल पुगेसँगै एकदिवसीय विश्वकप जित्ने नयाँ च्याम्पियन राष्ट्र थपिने भएको छ । इंग्ल्याण्ड र न्युजिल्याण्डले अहिलेसम्म उपाधि जित्न सकेको छैन । एजेन्सी
प्रकाशित मितिः २०७६ असार २७ शुक्रबार
Comments