काठमाडौं । लियोनल मेस्सी कप्तानीको अर्जेन्टिना अहिले गम्भीर समस्यामा छ । कोपा अमेरिका फुटबल अन्तर्गत पहिलो खेलमा कोलम्बियासँगको हार र दोस्रो खेलमा पाराग्वेसँगको बराबरीमा रोकिएपछि क्वाटरफाइनलमा पुग्ने सम्भावना कम भएको छ ।
अब समूह चरणको अन्तिम खेलमा कतारसँग प्रतिस्पर्धा गर्न बाँकी छ । सो खेलमा जित निकालेमा उ तेस्रो स्थानमा रहने उत्कृष्ट टिम बन्दै अघिल्लो चरण पुग्ने सम्भावना छ । तर अहिलेको लयमा अर्जेन्टिनाले एसियाली च्याम्पियन कतारलाई हराउन सजिलो भने देखिएको छैन ।
मेस्सी विश्वका सर्वोत्कृष्ट खेलाडी हुन् र यो कुरा पनि सत्य हो कि उनले राष्ट्रिय टिमबाट खासै केही हाँसिल गर्न सकेका छैनन् । उनका लागि अन्तिम अवसर ठानिएको कोपा अमेरिकामा पनि अहिलेसम्मका खेलमा खासै राम्रो भएको छैन ।
दोस्रो खेलमा पेनाल्टी मार्फत गोल गरेर टिमलाई मेस्सीले हारबाट त जोगाए तर समग्रमा अर्जेन्टिनाको टिम लयमा देखिएको छैन ।
सन् १९७० यताकै कमजोर अवस्थामा रहेको ठानिएको अर्जेन्टिनाको टिम । यो टिमका लागि मेस्सी समाधान हुन्, समस्या होइनन् । तर टिम सिंगैले केही गर्न नसक्दा मेस्सी एक्लैले गर्न सक्ने केही हुँदैन।
१३२ खेलमा अर्जेन्टिनाका लागि ६८ गोल गरेका मेस्सी पाराग्वेसँगको बराबरीपछि पनि मिडियासँग कुरा गर्दा शान्त देखिए । तर उनमा टिमको प्रदर्शनलाई लिएर चिन्ता थियो ।
उनका लागि कतारसँगको खेलमा राष्ट्रिय गौरवका लागि लड्नु पर्ने बेला आएको छ समग्र टिमलाई साथमा लिएर । उनले यो बेला के सोचिरहेका होलान्, त्यो कल्पना मात्रै गर्न सकिन्छ । अर्जेन्टिनाले आइतबार मध्य रातमा कतारसँग खेल्ने छ ।
प्रकाशित मितिः २०७६ असार ७ शनिवार
Comments