काठमाडौं । पोर्चुगलले युईएफए नेसन्स लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आइतबार राति घरेलु मैदानमा भएको रोमाञ्चक खेलमा पाहुना टोली नेदरल्यान्ड्समाथि १–० को जित निकाल्दै पोर्चुगलले उपाधि जितेको हो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । घरेलु दर्शकको साथ पाएको पोर्चुगलले पहिलो हाफमा गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेन् ।
दोस्रो हाफको ६०औं मिनेटमा पोर्चुगलले अग्रता लियो । गोनकालो गुडेसले गरेको गोल नै जितकालागि पर्याप्त भयो । उनले बर्नान्डो सिल्भाको पासमा गोल गरेका थिए ।
तुलनात्मक रूपमा दरिलो टोली पोर्चुगलले नेदरल्यान्ड्समाथि दबाव राखेको थियो । नेदरल्यान्ड्सको पोष्टमा पोर्चुगलले १८ पटक प्रहार गर्दा नेदरल्यान्ड्सले चार पटक मात्र पोर्चुगलको पोष्टमा प्रहार गरेको थियो । सेमिफाइनलमा ह्याट्रिक गरेका पोर्चुगलको कप्तान क्रिस्टियानो रोनाल्डोले फाइनल खेलमा गोल गर्न सकेनन् ।
जीतसँगै पोर्चुगलले तीन वर्षपछि दोस्रो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको छ । पोर्चुगलले सन् २०१६ मा युरो कप जितेको थियो । एजेन्सी
प्रकाशित मितिः २०७६ जेठ २७ सोमबार
Comments