काठमाडौं । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाईनल प्रवेशका लागि आज मंगलबार चेन्नाई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुदैछ ।
आईपीएलको पहिलो क्वालिफायर खेलमा दुवै टोली मैदान उत्रन लागेका हुन् ।
चेन्नाईको घरेलु मैदान एमए चिदामबराममा हुने खेल राति ८ः१५ मा सुरु हुनेछ । दुवै टोली जित निकाल्दै सिधा फाइनलमा प्रवेशका लागि मैदान उत्रने छन् ।
मुम्बईले १४ खेलमा ९ खेलमा जित र पाँच खेलमा हार ब्यहोर्दै १८ अंक बनाएर लिगको शीर्ष स्थानमा रह्यो । यता, साविक विजेता चेन्नाईले पनि ९ खेलमा जित र पाँच खेलमा हार ब्यहोर्दै १८ नै अंक बनायो । तर नेट रनरेटको आधारमा पछि पर्दै चेन्नाई लिगको दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायरमा प्रवेश गर्यो ।
मुम्बइले जारी आईपीएलका लिग चरणका दुवै खेलमा चेन्नाईलाई पराजित गरेको थियो ।
आजको खेलबाट विजेता टिम फाइनलमा प्रवेश गर्नेछ भने पराजित हुने टिमले इलिमिनेटर राउण्डबाट विजेता बनेर आएको टिमसँग दोस्रो क्वालिफायरमा फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । इलिमिनेटर राउण्डमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ । बुधबार हुने इलिमिनेटर खेलमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद आमने सामने हुँदैछन् ।
प्रकाशित मितिः २०७६ वैशाख २४ मंगलबार
Comments