काठमाडौं । इटालियन सिरी ए मा युभेन्टसले एसी मिलानलाई पराजित गर्दै सिरी ए को उपाधि लगभग जितेको छ । गएराती सम्पन्न खेलमा युभेन्ट्सले मिलानलाई २-१ गोल अन्तरले पराजित गर्दै सिरी ए मा दोस्रो स्थानमा रहेको नापोलीभन्दा २१ अंकले अगाडी रहेको छ ।
मिलानका लागि खेलको ३९औ मिनेटमा क्रजिसजटोफ पियाटेकले गोल गर्दै सुरुवाती अग्रता दिलाए पनि दोस्रो हाफमा पाउलो डिबाला र मोइस कीनले गोल गर्दै युभेन्टसलाई खेलमा फर्काएका थिए । डिबालाले खेलको ६०औ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेल १-१ को बराबरी गरेका थिए भने युवा खेलाडी कीनले खेलको ८४औं मिनेटमा गोल गर्दै युभेन्टसलाई जित दिलाएका थिए ।
युभेन्टसले आफ्ना स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो बिना खेलेका सिरी ए का पछिल्ला तीन खेलमा जित हासिल गरेको छ ।
युभेन्टसले सिरी ए मा २१ अंकको अग्रता हासिल गरेको छ भने अब उपाधिका लागि एक जित टाढा रहेको छ । नापोलीले आज हुने खेलमा पराजित भएमा युभेन्टसले उपाधि जित्ने छ अन्यथा युभेन्टसले अप्रिल १३ मा हुने स्पालविरुद्धको खेल जितेमा यस सिजनको सिरी एको उपाधि जित्ने छ । एजेन्सी
प्रकाशित मितिः२०७५ चैत २४ आइतबार
Comments