काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ। गएराति भएको खेलमा चेल्सीले हडर्सफिल्ड टाउनलाई ५,० गोल अन्तरले पराजित गरेको हो।
घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन गोन्जालो हिगुइन र इडेन हाजार्डले दुई दुई गोल गरे। डेभिड लुइजको नाममा एक गोल रह्यो।
स्टामफोर्ड ब्रिजमा खेलको १६ औं मिनेटमा हिगुइनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। गत साता युभेन्ट्सबाट चेल्सी आएका हिगुइनको यो डेब्यु गोल समेत हो। खेलको ४५ औं मिनेटमा हाजार्डले पेनाल्टीमा गोल गरेपछि चेल्सी पहिलो हाफमा २,० ले अघि रह्यो।
दोस्रो हाफमा चेल्सी थप आक्रमक बन्यो। खेलको ६६ औं मिनेटमा हाजार्डले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीको अग्रता ३,० को बनाए। खेलको ६९ औं मिनेटमा हिगुइनले पनि व्यक्तिगत दोस्रो गोल पुरा गर्दा चेल्सी ४,० ले अघि रह्यो। त्यसपछि खेलको ८६ औं मिनेटमा लुइजले गोल गर्दै चेल्सीलाई ५,० को जित दिलाए।
जितसंगै चेल्सी आर्सनललाई पछि पार्दै लिगको चौथो स्थानमा उक्लिएको छ । । एजेन्सी
प्रकाशित मितिः २०७५ माघ २० आइतबार
Comments