काठमाडौं । बार्सिलोनाले स्पेनिस फुटबल प्रतियोगिता कोपा डेल रेको क्वार्टरफाइलमा स्थान बनाएको छ । गए रातिको खेलमा बार्सिलोनाले लेभान्टेलाई ३–० ले हराउँदै समग्रमा ४–२ को जितसहित अन्तिम आठमा स्थान बनाएको हो ।
बार्सिलोनाको घरेलु मैदानमा भएको सो खेलमा घरेलु टोलीलाई जिताउन ओस्माने डेम्बेलेले दुई तथा कप्तान लियोनल मेस्सीले एक गोल गरे । डेम्बेलेले खेलको ३० औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको एक मिनेट पनि बित्न नपाउँदै डेम्बेलेले अर्को गोल थप्दै २–० अग्रता दिलाए ।
यस्तै पहिलो हाफ २–० ले अगाडि रहेको बार्सिलोनाले दोस्रो हाफमा एक गोल थप्यो । उसका लागि कप्तान मेस्सीले ५४ औं मिनेटमा गोल गर्दै ३–० को जित दिलाए ।
बार्सिलोनाले अन्तिम १६ को पहिलो लेगमा लेभान्टेविरुद्ध २–१ को हार व्यहोरेको थियो । तर, आफ्नो मैदानमा उसले सहज जित निकाल्दा अघिल्लो चरणमा स्थान बनाउन सफल भयो ।
आजको यस खेलपश्चात क्वार्टरफाइनल पुग्ने टोलीहरु टुंगो लागेका छन् । गए रातिको भएको अर्को खेलमा भिल्लारिललाई ३–१ गोलअन्तरले र समग्रमा ५–३ ले हराउँदै स्पान्योल अन्तिम आठमा प्रवेश गरेको छ ।
यस्तै गए रातिकै अर्को खेलमा रियल बेटिसले अवे गोलको आधारमा रियल सोसिडाडलाई हराउँदै अघिल्लो चरणमा स्थान बनाएको हो । त्यसअघि गेटाफे, भ्यालेन्यिसा, जिरोना, एथ्लेटिको बिल्बाओ, रियल मड्रिड अन्तिम आठमा प्रवेश गरिसकेका छन् ।
प्रकाशित मितिः २०७५ माघ ४ शुक्रबार
Comments